Khabar Samachar

मेयर बालेनले उठाएका विषयबारे छलफल गर्न आज बैठक बस्दै

203
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उठाएका विषयहरूमा छलफल गर्न सरोकारवाला मन्त्रालयका मन्त्रीहरूसँग मंगलबार बैठक बसिने भएको छ।

मेयर बालेनले उठाएका एजेन्डाका विषयहरूमा केन्द्रित रहेर सरोकार निकायका मन्त्रीहरूसँग बैठक बस्ने निर्णय गरिएको सहरी विकास मन्त्री सीता गुरूङले जानकारी दिइन्।

उनका अनुसार फोहोर व्यवस्थापन समितिको बैठक बस्नुअघि सरोकार निकायका मन्त्रीहरूसँग बैठक बसिने छ।

‘सहरी विकास मन्त्रालयको समन्वयनमा, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी बैठकमा उपस्थित हुनुहुनेछ,’ मन्त्री गुरूङले सेतोपाटीसँग भनिन्।

बैठकमा मेयर बालेनले उठाएका एजेन्डा र समसामयिक विषयबारे छलफल हुने उनले जानकारी दिइन्।

‘सुकुम्बासी व्यवस्थापन गर्ने बालेनको मात्र कुरा होइन,’ मन्त्री गुरूङले भनिन्, ‘यो राज्यको पनि कर्तव्य हो। ती समेत समसामयिक विषयमा छलफल हुनेछ।’

यस्तै मंगलबारै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बोलाएर फोहोर व्यवस्थापन समन्वयन समिति (स्टेरिङ कमिटी) को बैठक बोलाउन अनुरोध गरिने मन्त्री गुरूङले बताइन्।

‘महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई बोलाएर बैठक बोलाउन समेत अनुरोध गर्नेछौं,’ मन्त्री गुरूङले भनिन्, ‘त्यसपछि सम्भवतः बुधबार बैठक बस्ने छौं।’

गत २०७८ फागुन २६ गते मन्त्रिपरिषद निर्णयानुसार सहरी विकास मन्त्रीको अध्यक्षतामा काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुखहरू, गृह सचिव, सहरी विकास सचिव, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, वन तथा वातावरण सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, धुनीवेशी नगरपालिकाका प्रमुख र ककनी गाउँपालिकाका अध्यक्ष, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य-सचिव रहने स्टेरिङ कमिटी गठन गरिएको थियो।

उक्त समिति तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पालामा गठन भएको थियो।

मेयर बालेनले गत चैत अन्तिम साता संघीय सरकारका १४ वटा मन्त्रालयले विभिन्न काम अघि बढाउन सहयोग नगरेको भन्दै सिंहदरबारको फोहोर उठाउन बन्द गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित