नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदले सहमतिमा जुराइसकेपछि अब कोशी प्रदेशको नाममा विवाद गर्न नहुने बताएका छन्।
आइतवार विराटनगर विमानस्थलमा महासचिव घनश्याम भुसालसहित पुगेका उनले संसदले कोशीमा सहमति गरिसकेपछि जनतालाई मनाएर जानुपर्ने बताए।
‘संसदबाट कोशीमा सहमति नै भएको रहेछ। संसदले सहमतिमा नाम जुराइसकेपछि अब विवाद गर्नुको अर्थ हुँदैन’, उनले भने, ‘हाम्रा केही साथीहरुले आफ्नो ढंगले चल्ने काम गर्नु भएको पनि सुन्नमा आयो। अब त्यसो गरेर हुँदैन।’
अध्यक्ष नेपालले अब दलहरुले जनतालाई सम्झाएर कोशी पनि साझा पहिचान हो भन्ने बुझाउनुपर्नेमा जोड दिए। ‘यसमा अब हामीले जनतालाई सम्झाएर कोशी नै साझा पहिचान हो भन्ने कुरा स्थापित गरौँ’, नेपालले भने, ‘अब यो नै साझा पहिचान हो भनौँ। कोशी कुनै धर्म र संस्कृतिसँग जोडिएको छैन। यसलाई हामी सबैले स्वीकार्न सक्नु पर्छ।’
उनले कोशीको विकल्पमा सगरमाथा नाम राखेको भए पनि उचित हुने बताए। ‘नेपालको प्राकृतिक सम्पदा हो कोशी, समगरमाथा पनि गौरव हो’, उनले भने, ‘यसमा कुनै आपत्ति थिएन। कोशीमा सहमति भइसकेपछि त्यसलाई हामीले मानेर, असन्तुष्टलाई सम्झाएर जानुपर्छ।’
नेपालले नक्कली शरणार्थी प्रकरणमा सरकार बदबाबसामु झुक्नु नहुने बताए। ‘बदमासी गर्ने जतिसुकै ठूला भए पनि दण्ड दिने अवस्थामा पुर्याउनै पर्छ’, उनले अगाडि भने।
Discussion about this post