Khabar Samachar

भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग

224
VIEWS

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक भएको छ।

सार्वजनिक भएको एक मिनेट तीन सेकेन्डको अडिओमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ।

प्रहरी उच्च स्रोतका अनुसार उक्‍त अडिओ प्रहरीलाई पीडितले जाहेरी बुझाउँदा नै बुझाएको थियो र त्यसमा अनुसन्धान जारी छ। अहिले सार्वजनिक भएकोभन्दा लामो अडिओ आफूकहाँ आएको प्रहरी स्रोतले सेतोपाटीलाई बताएको छ।

‘हामीसँग सो अडिओको ३० मिनेट लामो वार्ता सुरक्षित छ,’ स्रोतले भन्यो।

उक्त अडिओमा कुराकानी गर्ने गिरोहका ती सदस्य पनि अहिले प्रहरी हिरासतमा रहेको र अनुसन्धान जारी रहेको स्रोतले बतायो।

उक्त अडिओमा भनिएजस्तो देउवा र खाणलाई पैसा बुझाएको सत्य हो वा होइन यकिन हुन बाँकी रहेको प्रहरी स्रोतले बतायो।

‘अनुसन्धान जारी छ, अहिले नै केही भन्न मिल्दैन,’ स्रोतले भन्यो।

जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रक्रियामा अहिलेसम्म २० वटा जाहेरी परेका छन्, जसमा एक सय बढी पीडित छन्।

सार्वजनिक भएको अडिओमा पीडितले नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवालाई साढे २ करोड र कांग्रेसकै अर्की सांसद मञ्जु खाणलाई ६ करोड रकम बुझाएको उल्लेख छ। खाण पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी पत्नी हुन्।

सांसद खाणको सचिवालयले सामाजिक सञ्जालमा आइरहेका अडिओ झुटो भएको दाबी गरेको छ।

‘नचाहिँदो अडिओ सामाजिक सञ्जालमा आइरहेको छ, यस्तो अडिओ प्रयोग गर्ने दर्ता नभएका अनलाइनविरूद्ध कारबाही गर्न माग गर्दै प्रेस काउन्सिललाई पनि पत्र लेखिसकेका छौं,’ सांसद मन्जुका सहयोगी सन्तोष थापाले सेतोपाटीसँग भने।

उनले नक्कली भुटानी शरणार्थीबारे सांसद खाणलाई सरोकार नै नभएको बताए।

‘सरोकार नै नभएको कुराबारे सामाजिक सञ्जालमा आउनु बेकारको कुरा हो। उहाँलाई यसबारे जानकारी छैन,थाहा छैन,’ खाणको सचिवालयका तर्फबाट कुरा राख्दै थापाले भने।

अडिओमा पीडितले काम हुनै लाग्दा प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको भन्दै गुनासो गरिरहेको सुनिन्छ। गिरोहले आफूहरूलाई दुहुनो गाई बनाएको गुनासो उक्त कुराकानीमा सुनिन्छ।

‘काम सकिनै आँट्यो आखिरमा सिडिओको सरूवा गरिदिन्छ। ल काम हुन लाग्यो भन्यो सरूवा हुन्छ। पर्सिदेखि काम सुरू भन्यो झ्याम्म पारेर खायो सिडिओ सरूवा गरिदिन्छ। कति सरूवा गर्‍या भन्या। नियतवश हो नि त दाइ। के काम हुन्छ रातारात सरूवा गरिदिने। दुहुनो गाई हामी त,’ पीडितले भनेका छन्।

यसरी पीडितले गुनासो गरिरहँदा गिरोहका व्यक्तिले भने आफूले सबै मिलाइदिने र मिडियाहरूसँग समेत कुराकानी गरेको बताएका छन्।

‘आरजुलाई साढे दुई करोड बुझाएको हो, ६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मञ्जुदेवीले बुझ्नुभएको हो घरमा। हनुमानथानमा घर छ त्यहाँ बुझ्नुभएको हो,’ पीडितले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित