लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन्। आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।
नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँकतै पनि नजोडिएको स्पष्ट पारे। सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरे।
मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो।
पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पुर्याउनका लागि प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले बताए। रेडियोको सबलीकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। रासस
Discussion about this post