Khabar Samachar

आजबाट उठ्यो उपत्यकाको फोहोर

214
VIEWS

पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य आजदेखि पुनः सुरु भएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम सुरु गरेसँगै अवरोध हटेपछि फोहर व्यवस्थापनमा सहज कार्य सुरु भएको हो । अहिले फोहोर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ । राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहरको गाडी सिसडोल जान पाउने छ ।

हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन सकेको थिएन  ।

दश दिनदेखि फोहोर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ । अठार स्थानीय तहको फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ । प्रमुख राईले भनिन्, “आजदेखि फोहर व्यवस्थापन कार्य सुरु भए पनि सडकमा जताततै रहेको फोहर व्यवस्थापन गर्न भने अझै केही दिन लाग्ने छ ।”

उनका अनुसार २०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उनले भनिन्, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”

सडक बनाउने जिम्मेवारी सङ्घीय सरकारको भएपनि उपत्यकाको फोहोर पटकपटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको बताइएको छ ।

उक्त स्थान भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो । हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित