Khabar Samachar

लेटाङ घटनामा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु ‘गोली प्रहार’बाट भएको पोस्टमार्टम रिपोर्ट

211
VIEWS

मोरङको लेटाङ घटनामा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पेटबाट गोली फेला परेको छ। पोस्टमार्टमका क्रममा उनको पेटमा गोली फेला परेको हो।

जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख रामहरि काफ्लेले पोस्टमार्टम रिपोर्टमा उर्मिलाको पेटमा गोली भेटिएको विषय उल्लेख रहेको जानकारी दिए। उक्त विषयमा जिल्ला सरकारी बकिलको कार्यालयले महान्यायाधीवक्ता कार्यालयलाई पनि जानकारी गराएको छ।

मोरङको लेटाङमा गत चैत ६ गते प्रहरी र सर्वसाधारणका बीचमा झडप हुँदा महिला प्रहरी श्रेष्ठको ज्यान गएको थियो। भिडमा कसैले धारिलो हतियार प्रयोग गरेको भनिएपनि पोस्टमार्टम रिर्पोटमा गोली लागेर मृत्यु भएको देखिएको छ।

विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आम्र्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ। हत्या भएको महिला प्रहरीको शरीरबाट गोली पनि निकालिएको छ।

हिंसात्मक झडप हुँदा प्रहरीको तीन वटा हतियारबाट हवाई फायर भएको थियो। तर, विधी विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको  गोलीसँग म्याच हुन नसकेको स्रोतको भनाइ  छ। यसले गोली गाउँलेबाटै प्रहार भएको हुनसक्ने आशंका बढेको प्रहरी स्रोतले जनाएको छ।

‘घटना घटेको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो,’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरी शर्मा काफ्ले भने।

महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिए पनि प्रहरीले हतियार भने फेला पारेको छैन।

प्रहरीले  लेटाङ घटनामा ६३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ।

पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। साबालक कति जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दामा अभियोग लैजाने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय भने गरिसकेको छैन।

‘बुधबार बिहान हामी साबालकको हकमा  निर्णय गर्नेछौं र सोही दिन अभियोग अदालत लैजाने तयारी गरेका छौं,’ जिल्ला न्यायाधीवक्ता शर्माले भने।

पक्राउ परेकामध्ये १ जना बालकलाई अदालतले अभिभावकको जिम्मामा लगाउने आदेश मंगलबार गरिसकेको छ।

‘पोस्टमार्टम रिर्पोटमा मृत्युको कारण गोली भनिएको छ। प्रहरीकै गोली लागेको हुनसक्ने आशंकामा जाँच गरिएको थियो, तर मेल खाएन,’ जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा भनिएको छ, ‘गोली कसले हानेको कसैको बयानमा खुल्दैन।’

झडपका क्रममा रगताम्य अवस्थामा फेला परेकी श्रेष्ठलाई उद्धार गरी कोशी अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित