Khabar Samachar

बालेनलाई इंगित गर्दै काठमाडौं प्रशासनले भन्यो-जथाभावी वक्तव्यबाजी नगर्नू

203
VIEWS

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सरकारी काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित हुने अभिव्यक्ति नदिन आग्रह गरेको छ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो ।

चालकसँग सवारी पास नभएकाले अबदेखि सवारी पास बोकेर हिंड्नू भन्दै ट्राफिक प्रहरीले छाडिदिएका थिए ।

श्रीमती चढेको गाडीलाई केरकार गरेको भन्दै आक्रोशित भएका बालेनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत फोन गरेर आक्रोश पोखेका थिए । लगत्तै उनले सिंहदरबारमा आगो लगाइदिने भन्दै धम्कीपूर्ण स्टाटस सामाजिक सञ्जालमा राखेका थिए । उनले उक्त स्टाटस भने अहिले फेसबुकबाट हटाइसकेका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बालेनको धम्कीको चर्को आलोचना भएपछि आइतबार बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै चेकिङको नाममा सुरक्षाकर्मीबाट अभद्र व्यवहार भएको आरोप लगाएको थियो ।

सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न भनेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सन्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ ।

लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित