Khabar Samachar

९ बलमा दीपेन्द्र ऐरीको अर्धशतक

203
VIEWS

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका दीपेन्द्रसिंह ऐरीले बुधबार ९ बलमा अर्धशतक पूरा गर्दै विश्व कीर्तिमान बनाए ।

भारतका युवराज सिंहले बनाएको १२ बलमा अर्धशतक बनाएको रेकर्ड १६ वर्षपछि ऐरीले तोडेका हुन् । एसियाली खेलकुदमा मंगोलियाविरुद्ध खेल्दा उनले ९ बलमा ८ छक्का हानेर ५० रन पूरा गरेका थिए । आफूले सामना गरेको पहिलो ६ बलमा ६ वटै छक्का प्रहार गर्ने अर्को अद्भूत रेकर्ड पनि उनले कायम गरे ।

१८.१ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएपछि क्रिजमा आएका दीपेन्द्रले अर्धशतक हान्ने कसैको कल्पनामा थिएन । किनकि नेपालसँग खेल्न ११ बलमात्र बाँकी थियो । त्यसमध्ये १० बल दीपेन्द्रको भागमा पर्‍यो । आफूले खेलेका सबै बलमा दीपेन्द्रले छक्का हान्ने प्रयास गरे । आठ वटा बललाई बाउन्ड्रीमाथि कटाउन सफल पनि भए । बाँकी दुई बलमा दुई-दुई रन लिए ।

दीपेन्द्रले अर्धशतकको कुनै सेलिब्रेसन गरेनन् । त्यसो त शतक बनाएका कुशल मल्लले पनि सेलिब्रेसन गरेनन् । प्रतिद्वन्द्वी टीम कमजोर भएकाले उनीहरुले आफ्नो व्यक्तिगत उपलब्धिलाई धेरै महत्वपूर्ण नठानेको हुनुपर्छ । तर, आखिर रेकर्ड त रेकर्ड नै हो । दीपेन्द्र र कुशलले विश्वका कैयौं दिग्गज ब्याट्सम्यानहरुलाई पछि धकेलिदिएका छन् । सर्वाधिक छिटो शतक र अर्धशतक बनाउने विश्वका ब्याट्सम्यानहरुको सूचीमा नेपालका खेलाडीलाई पहिलो नम्बरमा देख्न पाउनु पनि फ्यानहरुका लागि गर्वको कुरा हो ।

कुशल मल्लको रेकर्ड ढिलो चाँडो तोडिन सक्छ । तर, दीपेन्द्रको रेकर्ड तोड्न निकै कठिन छ । ब्याट्सम्यानलाई भाग्यको सहारा भयो भनेमात्रै, नत्र असम्भव नै छ ।

दीपेन्द्रको कीर्तिमान भंग गर्न ९ बलभन्दा कममा अर्धशतक पूरा गर्नुपर्छ । ब्याट्सम्यानले एउटा बललाई प्रहार गरेर अधिकतम जोड्न सक्ने भनेको ६ रन हो, जसलाई क्रिकेटकै भाषामा छक्का भनिन्छ । ८ बलमा हरेकमा छक्का प्रहार गर्दा पनि ४८ रनमात्र हुन्छ । नवौं बल त खेल्नै पर्छ । ९ बलमा कम्तीमा दुई रन लिएर दीपेन्द्रको रेकर्ड बराबरी हुनसक्छ । तर, तोडिँदैन । यद्यपि, भाग्यले साथ दिएमा झिनो सम्भावना रहन्छ । त्याे भनेकाे विपक्षी टीमबाट ओभर थ्रो भएमा हुन सक्छ ।

नेपालका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर दुर्गानाथ सुवेदी प्राविधिक रुपमा ९ बलभन्दा कममा अर्धशतक पूरा हुन सम्भव रहे पनि व्यवहारिक रुपमा त्यो सम्भव नभएको बताउँछन् ।

‘टेक्निकली सम्भव छ । तर, प्राक्टिकल्ली सम्भव छैन भने पनि हुन्छ’, सुवेदी भन्छन् । उनले ओभर थ्रोबाट कुनै भ्यालिड बलमा पनि ६ रनभन्दा बढी आउन सक्ने बताए ।

जस्तो कि सन् २०१९ को एक दिवसीय विश्वकपको फाइनलमा इङ्ल्यान्डका बेन स्टोक्सले न्युजिल्यान्डविरुद्ध भ्यालिड बलमै छक्का प्रहार नगरी ६ रन जोडेका थिए । रन लिन दौडिँदै गर्दा ओभर थ्रो बल स्टोक्सको ब्याटमा लागेर बाउन्ड्री छोएको थियो ।

अम्पायरले बलले बाउन्ड्री छोएबापत ४ रन र दौडिएर लिएको २ रनसहित ६ रन दिएका थिए । यसरी हेर्दा, दुई बलमा ७-७ रन आउने हो र बाँकी ६ बलमा छक्का प्रहार हुने हो भने पनि ८ बलमा अर्धशतक पूरा हुनसक्छ ।

नो बलका हकमा चाहीँ के हुन्छ त ?

बलरले यदि नोबल फ्याक्यो भने एक अतिरिक्त रन ब्याटिङ गर्ने टिमको खातामा जान्छ, तर ब्याट्सम्यानको व्यक्तिगत खातामा जाँदैन । तर, यदि नो बलमा ब्याट्सम्यानले रन लिएमा उसको स्कोरमा गणना हुन्छ । सँगसँगै बल पनि गणना हुन्छ । त्यसैले यसले छिटो सतक–अर्धसतक राख्न सहयोग गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित