Khabar Samachar

स्थानीय तहमा कार्यरत कर्मचारीहरू आजदेखि आन्दोलित

203
VIEWS

स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आजदेखि अत्यावश्यकबाहेक काम नगर्ने भएका छन्।

मन्त्रिपरिषद्ले पारित गरेर प्रतिनिधि सभामा दर्ता गर्ने तयारीमा रहेको संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरूले अत्यावश्यकबाहेक सेवा रोकेका हुन्।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आह्वानमा विधेयक सच्याउन माग गर्दै केही दिनदेखि काठमाडौंको माइतीघर मण्डलमा धर्ना र प्रदर्शनलगायत आन्दोलन भइरहेका छन्।

काठमाडौं आउन नपाएका कर्मचारीले आफू कार्यरत स्थानीय तहमै विरोधका कार्यक्रम गरेका छन्।

संघर्ष समितिका सहसंयोजक रामप्रसाद न्यौपानेले शुक्रबारदेखि अत्यावश्यकबाहेक काम बन्द गरेर आन्दोलन जारी राखिएको सेतोपाटीलाई बताए।

‘हाम्रा माग सरकारले सुनुवाइ गरेको छैन। अहिलेसम्म वार्ताका लागि पनि बोलाएको छैन। आजदेखि अत्यावश्यकबाहेक सेवा बन्द गरेका छौं,’ उनले भने, ‘माग पूरा नभएसम्म पेनडाउन गर्छौं।’दीपक गौतमको संयोजकत्वमा स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति गठन गरेर कर्मचारीहरू आन्दोलनमा छन्। समितिको बिहीबार बसेको केन्द्रीय समिति बैठकले शुक्रबारदेखि ७५३ स्थानीय तहमा अनिश्चितकालीन ‘पेनडाउन’ गर्ने निर्णय गरेको थियो।

साथै विरोध प्रदर्शनका लागि सबै स्थानीय तहका कर्मचारीलाई काठमाडौं केन्द्रित आन्दोलनमा आउनसमेत समितिले आग्रह गरेको छ। काठमाडौं आउन नसक्ने कर्मचारीले आफू कार्यरत स्थानीय तहमा नारासहित कालो ब्यानर राखेर धर्ना दिनसमेत समितिले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित