संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका नेता/कार्यकर्ताले गरेको अमानवीय व्यवहारविरूद्ध प्रदेश २ का इन्जिनियर आन्दोलित भएका छन्।

जनकारवाहीको नाममा आतंक मच्चाएको भन्दै जनमत पार्टीविरुद्ध इञ्जिनियरहरूको संगठन नेशनल इञ्जिनियर्स एसोसिएसन नेपालले सडकमा जुलुस निकालेको छ ।

हिजो र आज इञ्जिनियरहरूले जनकपुरधाममा प्रदर्शन गर्दै डा. राउतको इञ्जिनियर काउन्सिल सदस्यता खारेजको माग गरेका छन् । प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने राउतका कार्यकर्तामाथि कारवाही गर्न स्थानीय प्रशासनसँग उनीहरूको माग छ ।प्रमुख कुशवाहामाथि दुर्व्यवहारको आरोपमा जनमतका ६२ कार्यकर्तालाई पक्राउ गरिएको थियो । तीमध्ये १७ जनालाई धनुषा प्रहरीले मुद्दा चलाएको छ ।

नेपाल इन्जिनियर एशोसएसन प्रदेश २ मा आवद्ध इन्जिनियरहरूले घटनाको विरोध गर्दै शुक्रबार जनमत पार्टी र पार्टी अध्यक्ष राउतविरूद्ध नाराबाजी गरेका थिए।

‘पीडित इन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारबाही गर, इन्जिनियर सुरक्षाको ग्यारेन्टी गर, सिके राउतको इन्जिनियरिङ दर्ता खारेज गर’ लगायत नारा लगाउँदै उनीहरूले जनकपुरमा प्रदर्शन गरेका थिए।

आन्दोलित इन्जिनियरले जुलुससहित नगर परिक्रमा गरिसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। जनमत पार्टीका कार्यकर्ताहरूले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रूपमा नगर घुमाउनु कानूनी राज्यको उपहास भएको भन्दै प्रजिअ बन्धुप्रसाद बास्तोलालाई  उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्।

पेशागत रूपमा एक इन्जिनियरसमेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले इन्जिनिरिङ पेशाको गरिमा र मर्यादा हनन गरेकाले उनको नेपाल इन्जिनिरिङ परिषदको दर्ता प्रमाण पत्रसमेत तत्काल खारेज गर्न उनीहरूले नेपाल इन्जिनियरिङ परिषदसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय