मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ गते काठमाडौंमा हुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई पार्टी प्यालेसबाट निकालिएको भिडिओ सार्वजनिक भएको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित लोकन्थलीको इन्द्रसान पार्टी प्यालेसमा बसेका महिलाहरूलाई मंगलबार बेलुकी करिब सवा १० बजेतिर निकालिएको थियो।
सामाजिक सञ्जाल फेसबुक, एक्समा सार्वजनिक भएको भिडिओमा सुत्ने तयारी गरिरहेका महिलाहरूलाई युवाहरूको समूहले त्यहाँबाट बाहिर निस्कन भनिरहेको सुनिन्छ। ‘७ गतेको कार्यक्रममा आउनुभएको हो? हेलो दिदीहरू?,’ भनेको आवाज भिडिओमा सुनिन्छ।
धम्कीपूर्ण शैलीमा युवाहरूको एक समूहले महिलाहरूलाई उक्त पार्टी प्यालेसबाट बाहिरिन भनेका छन्।
जवाफमा महिलाहरूले भनेका छन्- ‘हामी जान्छौं, लुगा लगाउन दिनुस् हामीलाई।’ युवाहरूले महिलाहरूलाई छिटो पार्टी प्यालेसबाट निस्कन भनेका थिए। एक जना युवाले भिडिओ खिच्दै भनेका छन्- दुर्गा प्रसाईंलाई फोन गर्नू, युवा संघले हामीलाई निकाल्यो भनेर।
‘हेलो दिदीहरू दुर्गे प्रसाईंलाई फोन गर्नुस् युवा संघले लखेट्यो भनेर, गइहाल्नु गइहाल्नु,’ ती युवाले भनेका छन्। साथै युवाहरूले प्रदर्शनका लागि आएकाहरूलाई काठमाडौंमा कतै पनि बास बस्न नदिने भनेको भिडिओमा सुनिन्छ। महिलाहरूले राति भएकोले पार्टी प्यालेसमा बस्न दिन आग्रह गरेका थिए।
पार्टी प्यालेसबाट निकालिएपछि महिलाहरूले मेडिकल व्यवसायी प्रसाईंलाई फोन गरेका थिए। केही बेरपछि प्रसाईंका स्वकीय सचिव बताउने एक व्यक्तिले जिल्ला प्रहरी परिसर काठमाडौंमा फोन गरेर सुरक्षा माग गरेका थिए।
‘उहाँले राति फोन गर्नुभएको थियो। सुरूमा कोटेश्वरको इन्स्पेक्टर गएर जडिबुटीतिर हेर्नुभयो तर कोही फेला परेन,’ एसएसपी भूपेन्द्र खत्रीले भने, ‘घटना भक्तपुरतिर भएको रहेछ। पछि डिएसपी पवन भट्टराईको नेतृत्वमा प्रहरी खटिएर महिलाहरूको समूह भएको ठाउँमा पुगेको हो।’डिएसपी भट्टराई पुग्दा पार्टी प्यालेसमा ताला लगाइसकेको थियो। महिलाहरूको समूहलाई भने प्रहरीले उद्धार गरेको थियो।
‘हाम्रो टोली पुगेर उहाँहरूलाई उद्धार गर्यो। उहाँहरूलाई राति त्यही पार्टी प्यालेसमा राख्यौं। सुरक्षाका लागि प्रहरीहरू पनि राख्यौं,’ उनले भने, ‘उहाँहरू आज बिहान गौशालातिर जाने भनेर निस्कनुभयो।’
महिलाहरूमाथि अभद्र व्यवहार गर्ने युवा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ। सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान अघि बढाइएको र सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्नेहरूलाई खोजी गरिएको उनले बताए।
‘सामाजिक सञ्जालमा आएका भिडिओमा पनि केही युवाका अनुहार देखिएका छन्। उनीहरू युवा संघका हुन् कि होइनन् हामी खोज्दैछौं,’ उनले भने।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले पनि महिलाहरूलाई पार्टी प्यालेसबाट निकाल्नेहरूको खोजी भइरहेको बताए।
नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघका अध्यक्ष क्षितिज थेवेले महिलाहरूलाई पार्टी प्यालेसबाट निकालिएको घटनामा युवा संघको संलग्नता छ कि छैन भनेर आन्तरिक रूपमा छानबिन भइरहेको सेतोपाटीलाई बताए।
घटनाबारे आफूले प्रहरीबाट थाहा पाएको बताएका उनले भने, ‘अहिलेसम्म हेर्दा युवा संघको संलग्नता देखिएको छैन। हामीलाई बदनाम गराउन सामाजिक सञ्जालमा त्यो भिडिओ आएको पनि हुन सक्छ।’
अमानवीय र अमर्यादित गतिविधि गर्ने युवा संघको कुनै योजना नरहेको उनले दाबी गरे। ‘यदि युवा संघका कोही यो घटनामा जोडिए भने हामी कारबाही गर्छौं,’ उनले भने।
काठमाडौंमा मंसिर ७ गते युवा संघ र प्रसाईं पक्षले कार्यक्रम गर्न लागेका छन्। दुवै टोलीले माइतीघरमा कार्यक्रम गर्ने सम्भावना देखेपछि काठमाडौं प्रशासनले एक महिना माइतीघर-नयाँ बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोकेको छ भने दुवै पक्षलाई कार्यक्रम गर्ने स्थानसमेत तोकिदिएको छ।
प्रशासनको आग्रहमा युवा संघले तीनकुने र प्रसाईं पक्षले बल्खुमा कार्यक्रम गर्ने तयारी गरेका छन्। पछिल्लो समय युवा संघ इन्चार्ज महेश बस्नेत र मेडिकल व्यवसायी प्रसाईंबीच आरोप-प्रत्यारोप चल्दै आएको थियो।
Discussion about this post