प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल सेयर खरिद-बिक्री काण्डमा आफ्नी छाेरी गंगा दाहाललाई जाेड्नु संविधान, व्यवस्था, लोकतन्त्र र गणतन्त्र विरुद्धकाे हमला भएको बताउनुभएकाे छ ।
मंगलबार सिंहदरबारमा बसेकाे प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई डिप्रेस्ड गराएर व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको दाबी गर्नुभयाे ।
‘मेरो परिवारका सदस्य घट्दै गएर ३ जना छौं, त्याेमध्ये एउटा (रेनु दाहाल) भरतपुर महानगरको मेयर छ, ऊ उतै बढी केन्द्रित हुन्छ, एउटा छोरी (गंगा दाहाल) छ विचरा त्यो कस्ती छ तपाइँहरुले थाहा पाउनु भएकै छ, उसलाई जोडेर बनाएको छ-उचालेको छ, म के ठान्छु भने यो संविधान, व्यवस्था, गणतन्त्र र लाेकतन्त्र विरुद्धको हमला हो, म क्लियर छु, एकथरीलाई प्रचण्डलाई नराम्रोसँग हिनताबोध र डिप्रेस्ड बनाएसम्म व्यवस्था उल्टाउन सकिँदैन भन्ने छु’- उहाँले भन्नुभयाे ।
एनसेल काण्डमा भ्रष्टाचार गर्याे भन्ने कुरा पूरै झुटाे भएकाे प्रधानमन्त्री प्रचण्डले दाबी गर्नुभयाे । ‘गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४ सय ८० गुणा बढी भ्रष्टाचार गरेको छ भनेर मलाई जोडिएको छ, साँचो भएको भए त म बाँच्न नसक्ने हुन्थ्यो, झुटो भएकोले म ढुक्क छु जति भने पनि सावित हुनेवाला छैन’- उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री प्रचण्डले बेलायतमा कम्पनी खडा गरेर एनसेलको सेयर खरिद गर्नेलाई आफूले राम्रोसँग चिनेको पनि बताउनुभयाे । आफू सिंगापुर जाँदा उनीहरुकाे बसेकाे र उनीहरुसँग कुरा हुने पनि उहाँले बताउनुभयाे । ‘मेरो श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुई पटक गएको छु, तिनै साथीहरुकोमा बसेको पनि छु, शेरबहादुर देउवा जाँदा पनि बस्नुभएको छ, केपी ओली जाँदा पनि बस्नुभएको छ, हाम्रो बीचमा कुरा पनि हुन्छ, तर त्यसको अर्थ राष्ट्र र जनताका विरुद्ध, ऐन कानुन र हाम्रो संविधानका विरुद्ध, हाम्रो सिस्टमका विरुद्ध जोसुकै जान्छ भने तिनका विरुद्ध लड्न हामी तयार भएको हो नि’- प्रचण्डले भन्नुभयाे ।
एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा छानबिन गर्न गठित अध्ययन तथा छानविन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको उहाँले बताउनुभयाे । छानबिन समितिले नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, नेपाल राष्ट्र बैंक, आन्तरिक राजश्व विभाग र अन्तर्गतका करदाता सेवा कार्यालय र धितोपत्र बोर्डसँग समन्वय गरी कागजात र विवरण संकलन गर्ने र सोको विश्लेषण गर्ने काम गरिरहेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । समितिको प्रतिवेदन प्राप्त भएपछि उक्त राय सुझाव समेतको आधारमा सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने उहाँकाे भनाइ थियाे ।
यस काण्डमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए-गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार तयार रहेकाे पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
Discussion about this post