Khabar Samachar

एकनाथ ढकाल संलग्न रहेको जापानको युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न प्रधानमन्त्री किसिदाको निर्देशन

205
VIEWS

जापानी प्रधानमन्त्री फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि किसिदाले अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

गत जुलाई ८ मा चुनावी अभियानमा रहेका बेला आबेलाई गोली हानिएको थियो। आबेलाई गोली हान्ने व्यक्तिले आफ्नी आमाले थुप्रै पैसा चर्चलाई दान दिएको र त्यसैका कारण टाट पल्टिएको बताएका छन्। आबेले त्यही चर्चलाई प्रवर्द्धन गरेको भन्दै उनीमाथि गोली हानेको उनले प्रहरीलाई बताएका थिए।

त्यसपछि उक्त चर्चसँग राजनीतिज्ञहरूको सम्बन्ध र राजनीतिक सम्बन्धकै कारण उक्त चर्चले पाएका सुविधाबारे छानबिन गर्न चर्को माग उठेको थियो। उक्त चर्चसँग विभिन्न नेताहरूको सम्बन्ध देखिएपछि प्रधानमन्त्री किसिदाले माफी मागेका थिए। धार्मिक समूहका रूपमा रहेको उक्त चर्चमाथि अनुसन्धान गर्न सुरूमा आनाकानी गरेका प्रधानमन्त्री किसिदाले सोमबार चर्चमाथि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन्।

युनिफिकेसन चर्चको स्थापना सन् १९५० को दशकमा कोरियाली नागरिक सन म्योङ मुनले स्थापना गरेका हुन्। केही वर्षपछि यसको बिस्तार जापानमा पनि भएको थियो। चर्चले आफ्ना स्टाफहरूलाई नेताहरूको कार्यालयमा स्वंयसेवकका रूपमा पठाउने गर्छ। त्यसैबाट राजनीतिक सम्बन्ध बिस्तार गर्छ।

यो चर्चलाई द फ्यामिली फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेसन भनिन्थ्यो। तर अहिले धेरैले यसलाई युनिफिकेसन चर्च भनेर चिन्छन्।

यो चर्चमा नेपालका पूर्वमन्त्री एकनाथ ढकाल पनि जोडिएका छन्। उक्त चर्चका नाममा उनले नेपालमा विभिन्न कार्यक्रम गरिरहेका छन्।

एकनाथ ढकाल अहिले प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) को समानुपातिक सूचीमा छन्।

यसअघि नेपाल परिवार दल खोलेका उनी सोही पार्टीबाट दुई पटक सांसद भएका थिए। २०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी पहिलो पटक सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए।

२०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनी फेरि शान्ति मन्त्री बनेका थिए।

२०७५ मंसिर एकनाथको युनिफिकेसन चर्चले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गरेको थियो। उक्त सम्मेलनका नेपालका सबै राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएको र उनीहरूले होली वाइन पिएको भन्दै आलोचना भएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्धका कारण आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावका लागि पनि उनी एमालेको समानुपातिक सूचीमा परेका हुन्। २०७४ मा पनि उनी एमालेको समानुपातिक सूचीमा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित