काठमाडौ, पौष ४: इन्टरनेशनल ब्रदरहुड स्क्रयाम्बल गल्फ प्रतियोगिताको उपाधि प्रो राम थापामगरको टिमले जितेको छ।
आज रोयल नेपाल गल्फ क्लबमा भएको नौ होलको प्रतियोगितामा राम थापा तथा उनको टिमले ८-अन्डर २६ को स्कोरमा उपाधि जितेको हो। उपाधि विजेता टिममा मधुकर याक्थुम्बा, प्रकाश वन र गीता घिमिरे रहेका थिए।
प्रो किशन कालीराजको टिम काउन्ट ब्याकमा दोस्रो भएको छ। किशन, विदुर तामाङ, समिर तामाङ र संगीता श्रेष्ठ सम्मिलित टिमले काउन्ट ब्याकमा ७-अन्डर २७ को स्कोरमा दोस्रो स्थान प्राप्त गरेको हो। प्रोफेसनल गोर्खा लामा तथा एमेच्योर अनिल तामाङ, स्वप्नील भट्टराई र कविता महर्जनको टिमले तेस्रो स्थानमा चित बुझायो।
प्रतियोगितामा कृष्णमान राजबाहक र बाबु कुमार पौडेलले लङ्गेष्ट ड्राइभको उपाधि जिते। यसैगरी सञ्जीव तिवारी, रमेश अधिकारी, सचिन भट्टराई र दिनेश प्रजापतिले क्लोजेस्ट टु दी पिनको उपाधि हात पारे। फोर-बल-बेटर-बल फर्म्याटमा खेलाइएको प्रतियोगितामा कुल ५६ खेलाडीको सहभागीता रहेको थियो।
प्रतियोगिताको प्रायोजक अमेरिकन नागरिक केरी स्मिथ, आरएनजीसी अध्यक्ष मधुकर याक्थुम्बा, क्याप्टेन मिथुन राई र लेडी क्याप्टेन आर्सिया बानुले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरे।
Discussion about this post