संघीय संसद् सचिवालयको कार्यवाहक महासचिवमा बनाइएका पद्मप्रसाद पाण्डेको नागरिकतालाई लिएर राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ।
समितिका सभापति रामहरि खतिवडाले पाण्डेको नागरिकतालाई लिएर उजुरी आएको र थप विवरण बुझ्ने क्रममा रहेको बताए। ‘समितिमा विभिन्न उजुरी आइरहन्छन्। कसैले नामसहित त कसैले बेनामे उजुरी पनि दिएका हुन्छन्’, उनले नेपालखबरसँग भने, ‘उहाँ (पाण्डे) बारे पनि उजुरी आएको हो। म अहिले गृहजिल्ला (ओखलढुंगा) मा छु। यसबारेमा उहाँका सबै कागजात हात लागेपछि मात्रै थप कुरा भन्न सकिन्छ।’
मंसिर अन्तिम साता नै संसदीय समितिमा उजुरी परेपछि यसबारेमा गृह मन्त्रालयसँग कागजात मागिएको छ। समितिले कागजात उपलब्ध गराउन भनेपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, पाल्पासँग आवश्यक विवरण माग गरेको छ।
‘पाण्डेका दुईवटा नागरिकताबारे केही उजुरी परेका छन्। तर यसबारे सम्पूर्ण कागजपत्र प्राप्त नभएसम्म हामीले केही भन्न मिल्दैन’, सभापति खतिवडाले भने, ‘नागरिकताको विषय भएकाले यसबारेमा गृह मन्त्रालयले खोजतलास गरिरहेको हुन सक्छ। समितिमा सबै कागजपत्र आएपछि हामीले निर्देशन दिने नदिने त्यतिखेरै कुरा होला।’
स्रोतका अनुसार, समितिमा उजुरी आएपछि सभापतिको ठाडो निर्देशनमा त्यो सिलसिलामा के भएको हो भनेर गृहमा सोधिएको हो। यस विषयमा समितिको बैठकमा भने छलफल गरिएको छैन।
Discussion about this post