गठबन्धनबाट उम्मेदवार उठाउने पार्टीको निर्णयमा असन्तुष्टि जनाउँदै कैलालीमा वडा सभापतिसहित ९५ जनाले राजीनामा दिएका छन्।
नेपाली कांग्रेसका धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्त थापासहित उनीहरूले शुक्रबार जिल्ला पार्टी कार्यालयमा पुगेर सामूहिक राजीनामा दिएका हुन्।
बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भए पनि वडा नम्बर १८ कमिटीका तर्फबाट उम्मेदवार नभएकाे भन्दै क्रियाशील सदस्यबाट समेत राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ।
धनगढी–१८ मा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने तयारी भएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ।
अरू केही वडामा पनि अध्यक्ष पद कांग्रेसले नपाए गठबन्धन नमान्ने भन्दै जिल्ला समितिमा पत्र आउन थालेका पार्टी कार्यालय स्रोतले जनाएको छ।
Discussion about this post