आइतबार रसुवा प्रहरीले ठूलो परिमाणमा सुनसहित एक जनालाई पक्राउ गरेको छ।
गोसाइँकुण्ड गाउँपालिका–२ को चीन सीमाभन्दा पाँच/सात सय मिटर अगाडि प्रहरीले एक जनालाई सुनसहित पक्राउ गरेको हो।
त्यस ठाउँमा एउटा प्रहरी चौकी पनि छ।
सुन तस्करी हुँदैछ भन्ने सूचना प्रहरीलाई थियो। त्यसअघि नै प्रहरीले तस्करी नियन्त्रण गर्न निगरानी पनि गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।
आइतबार दिउँसो साढे १ बजेतिर प्रहरी उक्त स्थानमा खटिएको थियो। प्रहरीले चीनको केरूङ नाकाबाट आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको गाडीलाई रोकेर जाँच लियो। जाँच गर्ने क्रममा गाडी पछाडि स्याउ फेला पर्यो।
उक्त गाडी काठमाडौं जाँदै गरेको बयान चालकले दिए।
तर खोजी गर्ने क्रममा गाडीको अगाडिपट्टि फल्स बटम बनाएर सुन लुकाइएको अवस्थामा फेला परेको हो।
‘गाडी स्याउ बोकेर काठमाडौं जाँदै थियो। जाँच गर्दा सुन फेला परेको हो,’ डिएसपी शाहीले भने, ‘चालक बस्ने क्याबिनको ढोकामा फल्स बटम बनाएर सुन लुकाएको फेला परेको हो।’
गाडी पछाडि ५०० कार्टनभन्दा बढी स्याउ थियो।
त्यसपछि प्रहरीले चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफुवेशी बस्ने २४ वर्षीय किशोर भुजेललाई पक्राउ गरेको छ। प्रहरीले उक्त सुन परीक्षण पनि गरेको छ। सुन सात किलो ६५३ ग्राम रहेको प्रहरीले जनाएको छ।






























Discussion about this post