प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार भएको छ।
बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्।
सभापति साहका अनुसार समिति बैठकमा कुसारी ढिला पुगेकी थिइन्। ढिलो गरी बैठककक्षमा पुगेकी उनले अनुमति नपाएरै बोल्न थालेपछि सभापति साहले रोक्न खोजे। त्यसपछि विवाद भयो।
‘माननीयज्यू ढिलो आउनुभयो। आफू ढिलो आएर अनुमतिबिनै बोल्न थालेपछि मैले तपाईंलाई बोल्न अनुमति छैन भनेको मात्रै के थिएँ, म भएकोतिर माइक फाल्नुभयो,’ साहले भने, ‘माइक म भएतिर आएन, सांसदहरू भएतिर गयो।’
आजको बैठक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा छलफल भएको साहको भनाइ छ।
सांसद कुसारीले भने समिति सभापति साह सधैं आफै संयोजक भएर अनुगमनमा जाने गरेको र आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको तथा अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको दाबी गरिन्।
अघिल्लो वर्ष बारा, पर्सा लगायतका जिल्लामा अनुगमनमा गएको र अनुगमन सकिएपछि आफूसहित ३ जना सांसद वीरगन्ज गएकाले त्यति बेलादेखि नै सभापतिले आफूलाई भेदभावपूर्ण व्यवहार गरेको उनले बताइन्।
उनले सभापति साहसँग समितिका अधिकांश सदस्य असन्तुष्ट रहेको दाबी गरिन्।






























Discussion about this post