Skip to main content

Khabar Samachar

Search
Close this search box.

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा,मिलन पाण्डेको कारबाही फिर्ता हुने

207
VIEWS

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै मिश्रले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताएका छन् ।

बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिएको बताएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन्।

‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, ’ उनले लेखेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।’

उम्मेदवारहरूले राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टीको नेताको रूपमा आफूले लिनुपर्ने बताएका छन्। यस चुनावमा विवेकशील साझाले बाराको फेटा गाउँपालिका र त्यहाँका दुई वडामा जितेको छ। जितेका प्रतिनिधिहरूलाई पनि पूर्ण रूपमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

उनले लेखेका छन्, ‘हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।’

‘मैले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरूद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो,’ उनले भने, ‘सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु।’

 राजीनामा दिएकाहरूलाई पनि पुन: पार्टीमा सामेल हुन आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित