काठमाडौं महानगरको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन साहलाई नेपाली कांग्रेसकी प्रत्यासी सिर्जना सिंहले बधाई दिएकी छन् । उनले आफ्ना मतदाताप्रति आभार प्रकट गर्दै बालेनलाई बधाई दिएकी हुन् ।
मतले चुनाव जित्न नसकेपछि नगरबासीको मन जित्न सफल भएको उनको बुझाइ छ । ‘काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा नगरबासीले दिनुभएको अपार माया, हौसला र समर्थनप्रति हृदयदेखि आभार प्रकट गर्दछु’, उनले भनेकी छन्, ‘निर्वाचित बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।’उनले उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिएकी छन् ।
आभार, सम्मान र बधाई
बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासीले दिनुभएको अपार माया, हौसला र समर्थनप्रति म हृदयदेखि आभार प्रकट गर्दछु विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकेँ। अत: लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु। काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु। साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासीको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।
निर्वाचनमा अहोरात्र खट्नु हुने पार्टीका आदरणीय साथीहरु, शुभेच्छुकहरू,
सञ्चारमाध्यमबाट निरन्तर समाचार सम्प्रेषण गर्ने पत्रकार मित्रहरू,
सामाजिक संजालबाट निरन्तर हौसला दिने युवा साथीहरू एवं निर्वाचन सम्पन्न गराउने राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनका पर्यवेक्षक लगायत सम्पूर्णमा म हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
मेरो प्रेरणाको श्रोत ससुराबुवा सर्वोच्च नेता गणेशमान सिंह एवं सासूआमा महिला नेतृ मंगलादेवी सिंहको आदर्श अनुरुप सदैव एक निष्ठावान सिपाहीका रुपमा लोकतन्त्र, नेपाली काँग्रेस पार्टी, काठमाडौ महानगरवासी अनि सिंगो देशको सेवामा अनवरत उत्साहपूर्वक लागिरहने संकल्प पनि यो घडीमा व्यक्त गर्न चाहन्छु। जय नेपाल।
सिर्जना सिंह
नगर प्रमुखको उम्मेदवार
काठमाडौं महानगरपालिका






























Discussion about this post