Khabar Samachar

मुख्यमन्त्री परिवर्तनका लागी कांग्रेस र माओवादी केन्द्रका सांसदको हस्ताक्षर संकलन

209
VIEWS

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको तयारी स्वरुप मुख्यमन्त्री परिवर्तनका लागी कांग्रेस र माओवादी केन्द्रका सांसदको हस्ताक्षर संकलन सुरु भएको छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै माओवादी र काग्रेसका सांसदले मुख्यमन्त्री परिवर्तनको तयारी थालेका हुन् । तयारी अनुसार बिहीबार दुवै दलले मुख्यमन्त्री परिवर्तनको लागि हस्ताक्षर संकलन गरेका छन् ।

एक प्रदेशसभा सदस्यका अनुसार आवश्यक परेको खण्डमा प्रयोग गर्नेगरी हस्ताक्षर संकलन सुरु भएको हो। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका पाण्डेले आधा कार्यकाल र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले आधा कार्यकाल चलाउने गरी सहमति भएको थियो।

बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेट आज पास गरेको छ। यसअघि बजेट पास हुनेबित्तिकै मुख्यमन्त्री परिवर्तन हुने नेताहरुले बताएका थिए।

सांसद सिता अधिकारीका अनुसार आलोपालो सरकार चलाउने सहमति गरेपछि अहिले मुख्यमन्त्री पाण्डेले बाटो खोलिदिनु पर्नेमा आलटाल गरेका कारण हस्ताक्षर संकलन थालिएको बताइन् । उनले भनिन्, ‘दलका नेताबाट मुख्यमन्त्री परिवर्तनको कुरा छ हस्ताक्षर गर्न भनेपछि हामी सबैले हस्ताक्षर गरेर दलको कार्यालयमा बुझाएका छौं ।’

प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्ने तयारी रहेको सांसद अधिकारीले बताइन् । सत्तारुढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । सोही समझदारीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए ।

नेकपा माओवादी केन्द्रका एक सांसदले अनलाइनखबरसँग भने, ‘भोलि प्रक्रिया पूरा गर्नुपर्‍यो भने, वर्षाको बेला छ, सबै सांसदहरु उपस्थित नहुन सक्छन् भनेर हस्ताक्षर संकलन गरिएको हो ।’

आर्थिक वर्ष २०७८/०७९ को बजेट पास भएपछि पूर्वसहमति अनुसार नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

नेकपा एकीकृत समाजवादीका नेता पाण्डे गत कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई माओवादी २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादीका १३ र जसपाको एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

कांग्रेसले सहमति अनुसार सहजै आफूले सत्ता प्राप्त गर्नुपर्ने माग गरेपनि मुख्यमन्त्री पाण्डेले केन्द्रीय नेतृत्वको निर्देशनपछि मात्र पछाडि हट्ने बताएपछि हस्ताक्षर संकलन गरिएको काग्रेसका एक सांसदले बताए । हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित