राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठन गरेको वार्ता समिति भंग गरिएको छ। महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा वार्ता समिति गठन भएको थियो।महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री राणाको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।वार्ता समितिलाई समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्य गर्ने जिम्मेवारी केन्द्रीय समितिले दिएको थियो।वार्ता समितिमा महामन्त्री राणा, ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष थिए।यो समितिले विभिन्न पार्टी र व्यक्ति तथा समूहसँग वार्ता र संवाद गरेर राप्रपामा समाहित पनि गरेको थियो।समितिले अनौपचारिक रूपमा रवीन्द्र मिश्र, रवि लामिछाने लगायतसँग पनि छलफल गरेको थियो।वार्ता समितिमार्फत कांग्रेस बिपीका धेरै पदाधिकारीलाई राप्रपामा समाहित पनि भएका थिए।तत्कालका लागि वार्ता र संवादका काम सकेकोले उक्त वार्ता टोली हालै भंग गरिएको राप्रपाले जनाएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले महामन्त्री राणा नेतृत्वको वार्ता टोलीले विभिन्न पक्षसँग वार्ता गरी अधिकांशमा सफल भएको बताए। उनले कतिपय व्यक्ति र समूह राप्रपामा समाहित भइसकेको र केही हुने क्रममा रहेको बताए।
Discussion about this post