Khabar Samachar

इन्सुरेन्सको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या

238
VIEWS

दुर्घटनामा श्रीमानको मृत्यु भएको भन्दै सपना मल्लले २०७८ वैशाखमा रिलाइन्स लाइफ इन्सुरेन्स कम्पनीमा बीमा रकम भुक्तानीका लागि निवेदन दिइन् । बाँकेको कोहलपुर- ११ बस्ने २१ वर्षीय सर्जन विकको २०७८ बैशाख २ गते मिनीबसको ठक्करले मृत्यु भएको कागजात पेश गरेपछि बीमा कम्पनीलाई रकम भुक्तानी गर्न कर लाग्यो ।

२०७८ वैशाख २ गते राति करिव ११ बजे कोहलपुर नगरपालिका–११ का २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटनामा ज्यान गएको थियो।

उनी बालुवा लोड गर्न भनेर घरबाट निस्केका थिए। काम सकेर भे १० प १७२७ नम्बरको मोटरसाइकलमा काम घरतर्फ फर्किँदै गर्दा उनलाई मिनी बसले ठक्कर दिएको थियो।

टोपबहादुर राना क्षेत्रीले चलाएको मिनी बसले उनलाई विपरीत दिशाबाट ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो।

उक्त घटना २०७८ वैशाख २७ गते जिल्ला अदालतमा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो।

अदालतले गत माघ २५ गते फैसला सुनाउँदै सवारी चालक रानालाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गराएको थियो। त्यसबेला मोटरसाइकल धनी सरदार अहमद खाँले सफाइ पाएका थिए।

बिमा रकम अर्कैले तिरे
मृतक सर्जन सामान्य परिवारका सदस्य हुन्। तर उनको नाममा जीवन बिमा र म्यादी जीबन बिमा गरी २ करोड ५० लाख रुपैयाँको गरिएको थियो।

मृत्युपछि २०७८ साउन १४ गते रियलायन्स लाइफ इन्सुरेन्स कम्पनीबाट उनकी श्रीमती सपना मल्लले २ करोड ५० लाख रुपैयाँ बिमा रकम बुझिन्। त्यसपछि उनले आफ्नो नाममा रहेको सानिमा विकास बैंकको खातामा जम्मा गरिन्।

सामान्य व्यक्तिको नाममा अढाई करोडको बिमा भुक्तानीपछि नेपाल पुनर्बिमा कम्पनीले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

मृतक सर्जन विकको सवारी दुर्घटनामा मृत्यु शंकास्पद देखिएको भन्दै पत्राचार गरिएको थियो। दाबी बापत कम्पनीले २ करोड ४२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व सिर्जना भएको भन्दै कम्पनीले सीआईबीलाई पत्र पठाएको थियो। सीआईबीलाई पत्र पठाएपछि घटनाको अनुसन्धान थालियो।

त्यसपछि रियलायन्स इन्स्योरेन्स कम्पनीले पनि ठगीसम्बन्धी कसुरमा अनुसन्धान माग गर्दै सीआईबीलाई पत्र पठाएको थियो।

बिमा गराउँदै कैफियत 
मृतकले कामना सेवा विकास बैंकमा २०७७ फागुन ५ गते खाता खोलेका थिए।

सपना मल्लको नाममा त्यहीँ फागुन १२ गते खाता खोलिएको थियो। तर उनीहरु दुवैको खाता सञ्जीवले नै खोलिदिएका थिए। त्यसपछि २०७७ फागुन १२ गते सर्जनको नाममा बिमा गरियो। जसको इच्छाएको व्यक्तिमा सपना मल्ल थिइन्।

फागुन २८ गते पहिलो पटक सर्जनले बिमाको प्रिमियम तिरेका थिए। २०७७ चैत २ गते उनीहरुले विवाह दर्ता गरेका थिए। त्यसको एक महिनापछि दुर्घटना भएको हो। तर, श्रीमानको मृत्युपछि काजकिरियामा पनि श्रीमती सपना बसिनन्।

बिमा रकम बाँडफाँड
सर्जनको हत्यापछि उनीहरुले बिमा रकम बाँडफाँड गरेर लिएका थिए। सञ्जीव अर्यालले ८० लाख ३६ हजार रुपैयाँ लिए।

दीपक केसीले ६० लाख, सपना मल्लकी आमा छविकुमारी खत्रीलाई १७ लाख ४६ हजार दिएका थिए। सपना मल्लले ८६ लाख ८९ हजार पाएकी थिइन्।

शंका? 
सर्जन विकको आर्थिक अवस्था कमजोर थियो। उनी आफ्नै आम्दानीले बिमाको प्रिमियम तिर्न सक्ने अवस्थामा थिएनन्। बिमाको प्रिमियम मात्रै वार्षिक ५ लाख ४० हजार रुपैयाँ तिर्नु पर्थ्यो

उनले स्वघोषणा गरेको वार्षिक आम्दानी उनले २ लाख रुपैयाँ मात्रै देखाएका थिए। वार्षिक आयको अधिकतम् ४० प्रतिशत मात्रै बिमा गर्न सक्ने प्रावधान छ।

मृतकले सावधिक र म्यादी जीवन बिमा गर्नुपर्ने कारण पनि नदेखिएको सीआईबीको ठहर छ। यस्तै मृतक र सपना श्रीमान–श्रीमती भए पनि उनीहरुबीच सम्पर्क देखिएको थिएन।

तर सपना र सञ्जीव अर्यालबीच घटनाअघि पनि पटक पटक सम्पर्क भएको थियो। मृतकको प्रथम प्रिमियम रकम पनि अर्यालले नै तिरि दिनुले प्रहरीको शंकालाई थप बल पुग्यो।

बिमा अभिकर्ता सरदार अहमद खाँसँग पनि पहिलेदेखि नै उनीहरुको सम्पर्क देखिएको थियो। दुर्घटनामा पनि उनैको बाइक प्रयोग भएको थियो।

सपना, सञ्जीव र दुर्घटनामा संलग्न सवारी चालकबीच पहिलेदेखि नै बाक्लो सम्पर्क देखिएको थियो।

बिमाबापत प्राप्त रकम पनि उनीहरुले बाँडफाँट गरेको पाइएको छ। घटनाको दिन सञ्जीवले मृतक, सपना, सरदार र चालक टोपबहादुरसँग पटक पटक टेलिफोन सम्पर्क भएको थियो।

सावधिक जीवन बिमा र म्यादी जीवन बिमा दुवैमा दुर्घटना बिमा मात्रै उल्लेख भएको थियो। तर, कालगतिले मृत्यु भए बिमा सुविधा नपाउने उल्लेख थियो।

यसले पनि दुर्घटना सुनियोजित हो भन्ने देखिएको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले बताए।

कसरी सुरु भयो सुनियोजित घटना?
आरती भन्ने ललिता सापकोटाले सपना मल्ल र सञ्जीव अर्यालको भेटघाट गराएकी थिइन्। सपनालाई टिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने विषयमा उनीहरुबीच कुरा भएको थियो।

२०७७ मंसिर २७ गते सपना सीप सिक्न काठमाडौं आएकी थिइन्। २०७७ फागुन २८ गते विवाह दर्ता गर्न भनि गएकोमा मृतकको उमेर नपुग्दा रोकिएको थियो।

मृतकसँग सपनाको भने त्यतिबेला पहिलो भेट भएको थियो। त्यही चैत २ गते उनीहरुले विवाह दर्ता गरेका थिए।

तर विवाह दर्ता पनि मृतक र सपनाबीच भेटघाट भएन। सपना मल्लको खाता पनि सञ्जीवले नै खोलिदिनु अर्को शंकास्पद थियो।

खाता खोल्दा उपलब्ध गराएको मोबाइल नम्बर सञ्जीवले नै लिएका थिए। विकको दुर्घटनामा मृत्यु भएको पनि सञ्जीवले नै सपनालाई जानकारी गराएका थिए।

तर, सपना मृत्यु संस्कारमा सहभागी भएकी थिइनन्। बिमा दाबी भुक्तानीको सबै काम सञ्जीव र दीपक केसीले नै गरेका थिए। सपना मल्ललाई त्यसबारे धेरै कुरा थाहा नै नभएको पाइएको छ।

यसरी खुल्यो हत्याको रहस्य

२ करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो ।

सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।

मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्सुरेन्स कम्पनीले २ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । उक्त रकममध्ये मुख्या योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख छवि कुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको पाइएको छ । त्यसैगरी चालकले समेत रकम लिएको र बाँकी रकम सपना आफैँले राखेको प्रहरीले जनाएको छ ।

बीमा ठगी गर्न विवाह नै नक्कली !

गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्यु पश्चात बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड गर्न नक्कली विवाह गरेको पाइएको छ । सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको प्रहरीले जनाएको छ । गरिब परिवारका सर्जनलाई विवाह गरी अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गरिएको थियो ।

त्यसपछि विवाह गरेको समयपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ । २ करोड ५० लाख रुपैयाँको बीमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

उक्त मृत्युपछि इन्सुरेन्स कम्पनीले रकम भुक्तानी गरेको भए पनि उक्त घटना शङ्कास्पद देखिएपछि रिलायन्स इन्सुरेन्स कम्पनीले सीआईबीमा अनुसन्धानका लागि पत्र लेखेको थियो । त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको पाइएको हो ।

दुर्घटनाभन्दा अगाडि र पछि पनि चालक टोप बहादुर रानासँग मुख्य योजनाकार सञ्जीव अर्यालको पटकपटक कुराकानी भएको, सपना र सञ्जीवबीच पटकपटक कुराकानी र रकम बाँडफाँड भएको देखिएको, योजनामा सघाउने सबैले रकम लिएको र घटनाबारे आरोपितहरूले कसुर स्वीकार गरेको सीआईबीले जनाएको छ ।

को को पक्राउ परे? 
सीआईबीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। तर, घटनामा अरुको पनि संलग्नता रहेको आशंकामा अनुसन्धान भइरहेको एआईजी उत्तम सुवेदीले बताए।

बाँके कोहलपुर नगरपालिका–२ की २१ वर्षीय सपना मल्ल पक्राउ परेकी छन्। उनी दिल्ली हुँदै जापान जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन्। उनैले सर्जनसँग नक्कली बिहे गरेकी थिइन्।

सपनालाई प्रलोभनमा पारी सर्जनसँग बिहे गराउने, दुर्घटना गराई बिमा वापत प्राप्त रकमबाट ८० लाख रुपैयाँ लिने सञ्जीव पनि पक्राउ परेका छन्। कोहलपुर–११ का ३१ वर्षीय अर्याल नै मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।

बिमा एजेन्टसमेत रहेका सरदार अहमद खाँ पनि पक्राउ परेका छन्। ३२ वर्षीय सरदारकै मोटरसाइकल दुर्घटनामा प्रयोग गरिएको थियो। कोहलपुर–१५ का उनको सञ्जीवसँग पुरानो चिनजान थियो।

सपनालाई विदेश लैजाने एजेन्ट पनि पक्राउ परेका छन्। बाँकेकै बैजनाथका ३३ वर्षीय टोपबहादुर राना क्षेत्री साउन ११ गते कोहलपुरबाट पक्राउ परेका हुन्।

उनले मिनी बस चलाएर दुर्घटनास्थलमा जानुपर्ने कारण समेत नदेखिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बारम्बार गाडी अगाडि पछाडि गरेकोसमेत उनले बयानमा बताएका थिए। घाइतेलाई पनि अस्पताल नलगी उनी फरार भएका थिए।

यस्तै सपनासँग बिमाको भुक्तानी लिन काठमाडौं आउजाउ गरेका दीपक केसी पनि पक्राउ परेका छन्। ३८ वर्षीय केसीले सपनाको नाममा आएको बिमा रकममध्ये ६० लाख रुपैयाँ लिएका थिए।

उनी पहिले पनि कर्तव्य ज्यान मुद्दाका अभियुक्त भगाएको भन्दै अदालतबाट दोषी ठहर भएका थिए।

यस्तै सपनालाई विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भन्दै सञ्जीवसँग चिनजान गराउने ललिता सापकोटा पनि पक्राउ परेकी छन्।

उनी सञ्जीवको प्रेमिका रहेको प्रहरीको दाबी छ। पक्राउ परेका ६ जनाविरुद्ध सीआईबीले अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित