Skip to main content

Khabar Samachar

Search
Close this search box.

आज नाग पञ्चमी र यसको परम्परा

227
VIEWS

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।

नाग पञ्चमीको विशेषता

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कटशङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।

नाग पञ्चमीमा व्रतको विधि

नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत पनि लिने गरिन्छ । यस व्रतमा पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खिर पकाएर त्यसलाई सर्वप्रथम प्रसादका रूपमा नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई), प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजनका साथै समाप्तिमा समेत नुन खानु वा चिल्लो तथा तेल जन्य परिकारहरूको प्रयोग पनि वर्जित छ । साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ ।

नागपञ्चमीमा घरको ढोकामा टास्ने चित्र

मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा

नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको द्वार(ढोका)मा टाँस्नाले सर्पको भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ । पश्चिम नेपालका दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद ऋतु सुरू हुन्छ भन्ने जनमान्यता रहेको छ। नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, गङ्गटो, बिच्छी जस्ता बिषालु जीवहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ । त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-

  • ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
  • नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
  • इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
  • नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
  • कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
  • नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
  • इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
  • नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
  • सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
  • नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।
  • मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
  • नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
  • प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
  • नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
  • सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
  • नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
  • ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
  • नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
  • समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
  • नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
  • रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
  • नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।

नागमन्त्र पाठ गर्न असम्भव भए ॐ कुरुकुल्ये हुँ फट स्वाहा मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।

नागगायत्रीको मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने जनविश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ । त्यसैले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै नागपञ्चमीको दिनको पूजामा नागलाई मनपर्नेसेतो रङ्गको प्रयोग धेरै गरिन्छ । नागपूजामा सेतो कमलको प्रयोग गर्ने विधान छ, यस्तै नागपञ्चमीको दिनमा यी सम्पूर्ण कृत्य(कार्य) गर्न सक्दा कालसर्प योग दोषको शान्ति पनि हुन्छ भन्ने मान्यता पनि जनमानसमा रहेको छ ।

के नाग पूजा गर्नाले सर्प भय हुदैन त ?

हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ । यस्तै हिन्दूहरूले प्रत्येक वर्षको श्रावण महिना शुक्ल पक्षको पञ्चमी तिथिमा मनाउने नाग पञ्चमीको महत्त्व पनि त्यतिकै देखिन्छ । यो पर्व वर्षायाममा पर्ने भएकाले सर्प, बिच्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो । सर्पहरूलाई दुध पच्दैन (पाचन प्रक्रियामा समस्या आई मृत्युसम्म हुन सक्ने)भन्ने कुरा पनि छ र घरको ढोकामा नाग टास्दा दुध चडाइन्छ, त्यसैले सर्प दुधको गन्धको कारण ढोकाबाट प्रबेश गर्दैन भन्ने कुरो पनि छ । हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने मान्यता सत्य होस् अथवा नहोस् तर नाग पूजा गर्दा सर्पको डर नहुने केही कारणहरू छन्। यसरी घरआँगन सफा भएर घर वरपर सफा भयो भने सर्पहरूको डर कम हुने भयो । यस कारण नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्छ ।

पश्चिम नेपालमा नाग पूजा कसरी गरिन्छ ?

पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन ब्राह्मणले कागजमा विभिन्न नागहरू जस्तै:- बासुकी नाग, तक्षक नाग, कर्कट नाग, पद्म नाग, कालिय नाग, शेष नाग इत्यादी नागहरूका चित्र हातले अथवा छाप (स्टैम्प)मा छापेर यजमानका घर घरमा बाँड्दछन्। यसरी नागका चित्र बनाएको कागजमा चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, माछा र बिछ्छीका चित्र पनि समावेस हुन्छन्। साथै नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ। यदी ब्रामणले नाग न ल्याएमा आफैले बनाउने गर्छन् आफुले बनाउन जान्दैन भने अरू सँग बनाई माग्छन्। भोली पल्ट अथवा नाग पञ्चमीका दिन नागको पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ। नाग टाँसेर नागको प्राथना गर्ने मन्त्र

  • “अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी। एध्यहि मनसा देवी नागमातर्नमोऽस्तुते॥”

घरको जग खन्दा नागको शिर विचार

नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ। नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइन्छ। भाद्र, आश्विन र कार्तिकमा पूर्व। मंसिर, पुष र माघमा दक्षिण। फागुन, चैत्र र बैशाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ।[१]

कालसर्प योगको कारण र त्यसको निवारण

ज्योतिषमा योगको महत्त्व हुन्छ। ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरू छन त्यसमा ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन् भनिन्छ। ती नराम्रा मध्येको २ स्थानमा रहेको योग हो कालसर्प योग जसका कारण मानवले अरु असल योगहरूबाट पाउनु पर्ने राम्रा फफलहरू पनि ३० प्रतिशतमात्र पाउने गर्छ भन्ने विश्वास ज्योतिषहरूको छ।

के हो कालसर्प योग ?

मानिसको चिनामा सबै ग्रहलाई तपाईँको जन्मसमय, जन्मस्थान र त्यस समयको ग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो। अर्को शब्दमा जब चिनामा भएका सबै ग्रहहरू राहु र केतुको बिचमा हुन्छन् तब यस्तो योगको निर्माण हुन्छ। यसको निवारण गर्न निम्न उपाय अपनाउन सकिने ज्योतिषहरूको तर्क छ:

  • १- त्रिपिण्डी श्राद्ध : पितृहरू असन्तुष्ट हुँदा यो योग हुने गर्छ, अतः नजीकको तीर्थस्थल (विष्णुपादुका, गोकर्ण, गया)मा गई विधिविधान पूर्वक त्रिपिण्डी श्राद्ध गर्ने, तर मातापिता हुनेले यो कर्म घरका श्राद्धाधिकारप्राप्त सदस्यहरूबाट मात्र सम्पन्न गर्नसक्नु हुनेछ।
  • २- मृत्युञ्जय जाप : कम्तीमा २१००० पटक महामृत्युञ्जय मन्त्रको जाप आफैं गर्ने वा ब्राह्मणद्वारा गराउने।
  • ३- नागपूजा : नागपञ्चमीको दिन विधिवत् नागको पूजा गरी धातुनिर्मित नागको प्रतिमा बनाई ब्राह्मणलाई दान गरी, शिवालयमा चढाएर वा नदीमा प्रवाहित गरे कालसर्प योग निवारण यन्त्र धारण गरेपछि मात्र यो योग शान्त हुन्छ।

कालसर्पयोगको घेराभित्र रहेका शुभाशुभ ग्रहहरूका फलमा छाया पारिदिने हुनाले कालसर्प योग भएको व्यक्तिले प्रशस्त मौका, अवसर र क्षमता हुँदाहुँदै पनि उल्लेख गर्न योग्य कुनै सफलता प्राप्त गर्न सक्दैन। अस्तव्यस्त जिन्दगी, निरुत्तरदायी व्यवहार, दाम्पत्य जीवनमा किचलो, सन्ततिसुखको अभाव, दिमाग र क्षमता हुँदाहुँदै अध्ययन-अध्यापनको क्षेत्रमा कमजोरी आदि यस योगका सामान्य लक्षण हुन्।तर सबै कालसर्प योग खराब हुँदैनन्, २५ प्रतिशत कालसर्प योग असाध्यै राम्रा मानिन्छन्, त्यसैले विज्ञ ज्यौतिषीको सल्लाह प्राप्त गरी यसको विधिवत् शान्ति गर्नु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित