Khabar Samachar

शेखर समूहको निष्कर्ष : सम्मानजनक सिट नपाए कांग्रेसमा विद्रोह निश्चित

203
VIEWS

 

नेपाली कांग्रेसमा डा. शेखर कोइराला समूहले सम्मानजनक सिट नपाए आगामी मंसिर ४ को निर्वाचनमा पार्टीलाई नतिजामा असर पर्न सक्ने चेतावनी दिएको छ।

बिहीबार काठमाडौँको अनुपम फुडल्यान्डमा भएको कोइराला समूहको भेलाले उक्त चेतावनी दिएको हो।

यो समूहले गुट,उपगुट नभनी सम्मानजनक सिट बाँडफाँट गर्नुपर्ने पनि ठहर गरेको छ।

यदि आफूहरुले सम्मानजक सिट नपाएमा पार्टीको नतिजामै असर पर्न सक्ने चेतावनी यो समूहले संस्थापन अर्थात सभापति शेरबहादुर देउवाा समूहलाई दिएको हो।

कोइराला पक्षका शीर्ष नेताहरु अनुपस्थित रहेको यो भेलाले संस्थापनले पेलेर जान खोजेमा पार्टीमा संकट आउने बताउँदै सम्मानजनक हैसियत खोजेको हो।

भेलामा सहभागी  कांग्रेस नेता भूपेन्द्रजंग शाहीले आफूहरुको संर्घष न्यायका लागि भएको बताए। उनले पार्टीमा सबैले समान अवसर पाउनुपर्ने बताउँदै यदि संस्थापनले कुरा नसुने संकट निम्तिने चेतावनी दिए।

उनले अन्य दलसँग कांग्रेसले गठबन्धन गरिरहँदा पार्टीभित्रै पनि बलियो एकता र गठबन्धनको खाँचो रहेको औँल्याए। शाहीले पहिले पार्टीभित्रै एकताको आवश्यकता रहेको पनि बताएका छन्।

यो भेलाले सामानुपातिक सूचीमा असन्तुष्टि जनाइरहँदा संस्थापन पक्षले पेलेरै निर्णय लिएको बताउँदै अब प्रत्यक्षतिर पनि समान भागवण्डा नभए विद्रोह हुने निष्कर्ष निकालेको छ।

प्रत्यक्षको टिकट वितरणमा भेदभाव भएमा, अन्याय गरिएमा मंसिर ४ को निर्वाचनको परिणाम पार्टीको पक्षमा आउन नसक्ने पनि भेलाले ठहर गरेको छ।

भेलाले संस्थापन पक्ष गम्भीर भएर पार्टीमा बढिरहेको विद्रोहको वातावरणलाई शान्त बनाउन सक्नुपर्ने पनि उल्लेख गरेको छ।

उक्त भेलाका सहभागीहरुले १४ औँ महाधिवेशनमा डा. कोइरालाको पक्षमा उभिएकै कारण संस्थापन पक्षले विभेद गरेको जनाउँदै यसविरुद्ध डटेर उभिने जनाएका छन्।

कोइराला समूहले समानुपातिकमा रहेको केही असन्तुष्टिलाई असोज २३ मा प्रत्यक्षतर्फको मनोनयन दर्ताका क्रममा सम्बोधन गर्नुपर्ने जनाएको छ।

१४ औँ महाधिवेशनपछि सभापति देउवा पेलेर अघि बढेको भन्दै यो समूहले पार्टीमा समानान्तर तहकै गतिविधि गरिरहेको छ। उसले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना पनि दिइसकेको छ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन असोज २३ गते हुँदैछ। मनोनयन नजिकिएसँगै कांग्रेसको आन्तरिक कलह झन् बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित