Khabar Samachar

अतिक्रमित युक्रेनी क्षेत्रमा सैन्य कानुन

203
VIEWS

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अतिक्रमित युक्रेनी चार क्षेत्रमा सैन्य कानुन जारी गरेका छन् । त्यस्तो कानुन आजदेखि नै कार्यान्यनमा आइसकेको पुटिनको भनाइ छ ।

‘अक्टोबर २० देखि दोनेत्स्क र लुहान्स्क रिपब्लिक र जापोरिजा र खेर्सन क्षेत्रमा सैन्य कानुन लागू गर्ने निर्णय भएको म जानकारी गराउँछु,’ पुटिनद्वारा जारी कानुनमा उल्लेख छ । सैन्य कानुन जारी भएसँगै लुहान्स्क, दोनेत्स्क, जापोरिजा र खेर्सन प्रान्तमा रुसद्वारा निर्वाचित प्रमुखले तत्कालै आपत्कालीन शक्तिको प्रयोग गर्न पाउने रुसी राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ ।

त्यस्तै, पुटिनले युक्रेनी सीमामा रहेका क्राइमियासहित आठ प्रान्तमा ‘आर्थिक गतिविधि तीव्र पार्न’ पनि आदेश दिएका छन् । रुसले स्न २०१४ मा अतिक्रमण गरेको थियो । त्यसका साथै पुटिनद्वारा जारी कानुनले ती आठवटै प्रान्तमा जान वा बाहिरिनसमेत रोक लगाएको छ । ‘रुसको भरपर्दो भविष्यका लागि हामीले निकै जटिल मुद्दा समाधानका लागि काम गरिरहेका छौं,’ टेलिभिजनबाट प्रसारित सुरक्षा परिषद्लाई दिएको जानकारीमा पुटिनले भनेका छन् । आफ्नो भाषणका क्रमा पुटिनले ‘युद्ध थप चर्कंने’ संकेत गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । आक्रमणको केही समय निकै आक्रामक देखिएको रुस पछिल्ला महिनाहरूमा भने शान्तप्रायः थियो । तर पछिल्ला साताहरूमा युक्रेनले दक्षिणी क्षेत्रमा रुसी नियन्त्रणमा रहेका कपितय भूभाग फिर्ता लिएपछि रुसले आक्रमण तीव्र पारेको छ । त्यसका साथै उसले सेप्टेम्बर २३ देखि पाँच दिन लगाएर जनमतसंग्रह गरी युक्रेनका ४ भूभाग आफूमा गाभेको घोषणा गरिसकेको छ । जनमतसंग्रहको नतिजा अनुसार भन्दै रुसले सेप्टेम्बर ३० मा युक्रेनका रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो ।

जनमतसंग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीहरूको दाबी छ । उक्त कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने रुसी कदमको झल्को दिएको थियो । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले भने रुसले गरेको जनमतसंग्रह अवैधानिक घोषित गरेका थिए ।

रुसले सुरक्षाकर्मी र कर्मचारीमार्फत सर्वसाधारणलाई प्रभावित पारेको भन्दै जनमतसंग्रह औपचारिकता मात्रै भएको पश्चिमा देशहरूको दाबी छ । जसका कारण अमेरिका तथा युरोपेली संघले रुसविरुद्ध थप प्रतिबन्धहरू जारी गर्ने घोषणासमेत गरिसकेका छन् ।

रुसी फौजले पछिल्लो एक साता यता भने युक्रेनका ऊर्जा केन्द्रहरूमा आक्रमण तीव्र पारेको छ । जसका कारण युक्रेनका अधिकांश क्षेत्रमा ऊर्जा तथा पानीको चरम संकट उत्पन्न भएको छ । रुसी फौजले गरेको आक्रमणमा राजधानी किभसहित जाइटोमिर, डिनिप्रो र भिनित्सियाका अधिकांश ऊर्जा केन्द्रहरू क्षतिग्रस्त भएका युक्रेनी अधिकारीहरूको भनाइ छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले हालसम्म युक्रेनका ३० प्रतिशत ऊर्जा केन्द्रहरू रुसले ध्वस्त पारिसकेको जनाउँदै देशका अधिकांश क्षेत्रहरू अन्धकार बनेका र आगामी जाडोयाम निकै कठिन हुने बताएका छन् । रुसलाई क्राइमियासँग जोड्ने पुलमा विस्फोट गराइएपछि रुष्ट बनेको रुसले पछिल्लो समय युक्रेनका विद्युत् तथा ऊर्जा संरचनामाथि आक्रमण तीव्र पारेको हो । रेल तथा सडक मार्ग रहेको केर्च पुलमा दश दिन अघि गराइएको विस्फोटमा ३ जनाको ज्यान गएको थियो । युक्रेन आक्रमणका लागि आवश्यक सैन्य हतियार ओसारपसारका लागि रुसले बाटो प्रयोग गर्दै आएका कार उक्त पुल युक्रेनी फौजको निसानामा परेको हो ।

सन् २०१८ मा केर्च पुलमार्गको उद्घाटन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शताब्दीकै उत्कृष्ट संरचना’ भएको दाबी गरेका थिए । जसका कारण क्रुद्ध बनेका राष्ट्रपति पुटिनले युक्रेनमा देशव्यापी आक्रमणका लागि निर्देशन दिएका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित