Khabar Samachar

दार्चुलामा भारतीय अतिक्रमण र ज्यादतीविरुद्ध बोल्यो राष्ट्रिय स्वतन्त्र पार्टी

206
VIEWS

दार्चुलामा महाकालीको बहाव जवरजस्ती नेपालतिर धकेल्ने भारतीय कदमको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले निन्दा गरेको छ।

महाकालीको बहाव नेपालतिर फर्काउँदै पक्की संरचना बनाएको विरोधमा उत्रिएका नेपालीमाथि पनि आक्रमण भएकोमा रास्वपाले खेद प्रकट गरेको हो।

भारतले सीमानदी महाकालीको बहाव नेपालतिर धकेल्दै पक्की संरचना बनाइरहेको छ। त्यसक्रममा शनिबारदेखि दार्चुलास्थित नेपालीहरु प्रतिकारमा उत्रिएका छन्।

प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हानेको थियो। त्यसक्रममा बालबालिकासहित केही नेपाली घाइते भएका छन्।

‘महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरुले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, रास्वपाले भनेको छ, ‘ एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारहरु आएका छन्। अन्तर्राष्ट्रिय सन्धि सम्झौता, भारतसँगको हाम्रै द्विपक्षीय सन्धि सम्झौता विपरीत कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर-जिम्मेवार कार्य हो।’

रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले यस प्रकरणमा कुनै पनि नेपाली राजनीतिक दल, त्यसमा पनि सरकार संचालनको जिम्मेवारीमा रहेकारुले केवल आफ्नो राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवन रक्षाको लागि केही नबोल्ने संस्कारले राष्ट्रियता कमजोर हुने गम्भीर जोखिम देखिएको बताएका छन्।

‘सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिनु पर्ने बाध्यता बनेको छ’, उनले भने, ‘विभिन्न संरचना बनाएर महाकालीको बहाव नेपालतर्फ धकेलिँदा र त्यहाँका स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिरहँदा ठुलो दुर्घटनाको जोखिम बढाएको छ।’

भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्य आपसी सद्भाव बिगार्ने, दु:खद, अतिक्रमणकारी र भर्त्सनायोग्य रहेका रास्वपाले भनेको छ।

‘यस्ता कार्यहरु नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरु भत्काउन भारत सरकारको ध्यानाकर्षण गराउँदै नेपाल सरकारले भारतसँगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशीघ्र कुटनीतिक पहल सुरु गरिहाल्न, घाइते तथा पीडितहरुको औषधी उपचार, सुरक्षाको बन्दोबस्त गर्दै सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

रास्वपाले नेपाली नागरिकहरुको सुरक्षा, राष्ट्रियताका मुद्दा लगायतका राष्ट्रहितका लागि हाम्रो पार्टीका तर्फबाट सदैव साथ र समर्थन रहने पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित