नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत आठ प्रतियोगिता आयोजना गर्ने भएको छ।
कूल पुरस्कार राशी ६१ लाख ८५ हजार रहेको टुरको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपन मंगलवारबाट रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने संघका महासचिव दिपक आचार्यले जानकारी दिए। प्रतियोगितामा ३१ व्यवसायिक तथा पाँच एमेच्योर खेलाडीले सहभागिता जनाउने छन्।
सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत आयोजना हुने प्रतियोगिता मध्ये दुईवटा उपत्यका बाहिर हुनेछन। धरान गल्फ क्लबमा आयोजना हुने सुर्य नेपाल इस्टर्न ओपन र हिमालयन गल्फ कोर्ष पोखरामा हुने सुर्य नेपाल वेस्टर्न ओपनको पुरस्कार राशी ८-८ लाख रहेको छ।
त्यस्तै, रोयल नेपाल गल्फ क्लबमा अन्य दुई प्रतियोगिता आयोजना गरिनेछ। सुर्य नेपाल एनपीजीए म्याच प्लेको पुरस्कार राशी २ लाख ५० हजार रहेको छ भने सुर्य नेपाल च्यालेन्जको पुरस्कार राशी ५ लाख ४५ हजार रहेको छ।
सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा तीन प्रतियोगिता आयोजना हुनेछ। ८-८ लाख पुरस्कार राशी रहेको सुर्य नेपाल सेन्ट्रल ओपन र सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपका साथै १५ लाख २० हजार राशीको सिजनकै सबैभन्दा ठुलो प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप गोकर्णमा आयोजना हुनेछ।
विश्व गल्फको नियामक संस्था आर एण्ड एले एमेच्योर खेलाडीले पनि एक हजार डलर भन्दा कम पुरस्कार राशी प्राप्त गर्न सक्ने नियम लागु गरेसंगै एनपीजीएले नेपाल गल्फ संघ र मुख्य प्रायोजक सुर्य नेपाल प्रालिसंग सल्लाह गरेर निर्णय गर्न लागेको एनपीजीएका महासचिव दिपक आचार्यले जानकारी गराए। “हामीलाई एनजीएले पत्र पठाईसकेको छ, हामी छिट्टै हाम्रो प्रायोजकसंग छलफल गरेर उचित निर्णय गर्ने छौं,” आचार्यले भने । “सम्भवतः दोश्रो प्रतियोगितादेखि यो नियम लागु हुनेछ।”
एनपीजीएका अध्यक्ष रबिन्द्र मान श्रेष्ठले लामो समयदेखि व्यवसायिक गल्फलाई सहयोग गरेकोमा सुर्य नेपाल प्रालिलाई धन्यवाद दिए। श्रेष्ठले सरकारलाई गल्फ कोर्ष निर्माण गर्न आग्रह गरे। “खेलको पूर्ण बिकास हुनको लागी एउटा प्रदेशमा कम्तिमा १-२ वटा गल्फ कोर्ष हुनुपर्छ। अहिले त्यो बनाउन सम्भव पनि छ। पछि जग्गा पाउँन पनि गार्हो हुन्छ,” उनले भने। “अन्तर्राष्ट्रीय स्तरको गल्फ कोर्षहरु निर्माण गर्न सकियो भने त्यसलाई पर्यटनसंग सजिलै जोड्न पनि सकिन्छ,” श्रेष्ठले थपे।
























Discussion about this post