Khabar Samachar

Search
Close this search box.

पार्टी पुनर्गठनका लागि भन्दै माओवादीका युवा नेता छलफलमा

205
VIEWS

पार्टी झनपछि झन कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् ।

पछिल्लो चुनावी परिणामले आफूहरु चिन्तित भएर पार्टी रुपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरुले बताएका छन् ।

माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रन्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको हो ।

बिहीबार भृकुटी मण्डपस्थित रत्नराज्य क्याम्पसमा औपचारिक छलफलमा जुट्नुअघि उनीहरु अनौपचारिक छलफलमा समेत बसेका थिए ।

छलफलमा सहभागी वाईसीएल इन्चार्ज समेत रहेका दीपशिखाले पार्टीको जनवर्गीय संगठनका प्रतिनिधिहरुको सुझाव लिने काम भएको बताए । ‘यो गुट रहित, कमिटीरहित छलफल हो,’ उनले भने, ‘माओवादीको रुपान्तरणबारे छलफल भयो ।’

छलफलमा जनवर्गीय संगठनकातर्फबाट जनसांस्कृति महासंघका अध्यक्ष मात्रिका पोखरेल, वाईसीएल उपाध्यक्ष सकम गुरुङ, दलित मुक्तिमोर्चाका अध्यक्ष र किसान महासंघका महासचिव सहभागी थिए ।

अर्का केन्द्रीय सदस्य हिमाल शर्माले जनवर्गीय संगठनका प्रतिनिधिहरुको सुझाव लिएको बताए । ‘पार्टी बनाउन सम्भव छ तर संगठनात्मक, सरकार संचाल र विचार निर्माणको परिपार्टी बदल्नुपर्छ भन्ने हो,’ शर्माले भने ।

माओवादी पार्टी अरु पार्टी भन्दा भिन्न किन भएन भन्ने चिन्ताले आफूहरु छलफलमा जुटेको उनले बताए ।

वाम बुद्धिजीवी, पत्रकार र राजनीति शास्त्र अध्ययन गरिरहेका विद्यार्थीबाट पनि उनीहरुले सुझाव लिने बताएका छन् । ‘छलफलबाट आएका सुुझावलाई टिपोटका रुपमा पार्टी नेतृत्वलाई हस्तान्तरण गर्छौं,’ दीपशिखाले भने ।

छलफलको पहल लिइरहेका अधिकांश युवा केन्द्रीय सदस्यहरुले माओवादी सरकारमा जान नहुने र प्रतिपक्षमा बसेर पार्टी निर्माणमा लाग्नुपर्ने धारणा राख्ने गरेका छन् ।

यसबारे केन्द्रीय सदस्य डीपी ढकालले भने, ‘संसदीय राजनीति गरेपछि सरकारमा जानै हुन्न भन्ने त होइन । तर, जाने हो भने किन जाने, त्यहाँ गएपछि के दिन्छौं भन्ने कुरामा छलफल हुनुपर्छ ।’

माओवादीले अघिल्लो वर्षको पुसमा आठौं महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनबाटै एक वर्षपछि विशेष महाधिवेशन गर्ने घोषणा गरिएको थियो । पार्टीलाई कसरी रुपान्तरण गर्ने भन्नेबारेमा विशेष महाधिवेशन बोलाएर छलफल गनुपर्ने धाराणा समेत उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित