Khabar Samachar

निर्वाचन प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै

201
VIEWS

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ ।

आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान अनुसार आज प्रतिवेदन पेस गर्न लागिएको जानकारी दिए । यसैगरी प्रदेशको हकमा पुस २ गते प्रदेश प्रमुखसमक्ष निर्वाचनको प्रतिवेदन बुझाइने उनले बताए ।

आयोगले निर्वाचनको प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनको तयारी तीव्र हुनेछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएका थिए । जसमध्ये प्रत्यक्षतर्फ ६१ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

यसपटकको निर्वाचनबाट प्रतिनिधि सभामा ११ दलका सांसदहरु रहने छन् । तर राष्ट्रिय दलको मान्यता भने ७ वटा पार्टीले मात्र पाएका छन् ।

प्रतिनिधि सभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकबाट ३२ सहित कूल ८९ सिट जितेको छ । दोस्रो दल बनेको नेकपा एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सहित ७८ सिट जितेको छ । तेस्रो दल बनेको माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकबाट १४ सहित ३२ सिट जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो, राप्रपा पाँचौं, जसपा छैटौं र जनमत पार्टी सातौं दल बनेका छन् । रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सहित कूल २० सिट जितेको छ ।

प्रत्यक्ष र समानुपातिकमा समान ७/७ जितेको राप्रपाका कूल १४ सांसद रहने छन् । जसपाका प्रत्यक्षमा ७ र समानुपातिकबाट ५ गरी कूल १२ तथा जनमत पार्टीका प्रत्यक्षमा १ र समानुपातिकबाट ५ गरी कूल ६ सदस्य प्रतिनिधि सभामा रहने छन् ।

प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादी, ४ सिट जितेको लोसपा र १ सिट जितेको राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड नकटाएकाले समानुपातिकबाट एक सिट पनि पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित