Khabar Samachar

आइतबारबाट सार्वजनिक यातायातमा भाडा बढ्दै

206
VIEWS

नेपालमा पहिलोपटक सार्वजनिक यातायातका साधनको भाडादरमा स्वचालित प्रणाली लागू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वचालित भाडा प्रणाली सम्बन्धी कार्यविधि स्विकृत गरेकी हुन् ।

सरकारले सार्वजनिक यातायात भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो । इन्धन मूल्य बढेकाले सार्वजनिक यातायात भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिइरहेका थिए ।

एक प्रदेशबाट अर्को प्रदेशसम्म सवारी भर्ने यातायात भाडामात्रै बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भने यातायात भाडा बढाइएको छैन । विभागले आइतबारमात्रै विभिन्न रुटमा बढेको भाडादर सार्वजनिक गर्ने भएको छ । मन्त्रालयले उक्त कार्यविधि स्विकृत गरेर यातायात व्यवस्था विभागलाई पठाइसकेकाले उक्त कार्यविधि अनुसार भाडादर निर्धारण गर्ने काम भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार स्वचालित भाडा प्रणाली लागू भएसँगै अबदेखि पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशत घटबढ हुँदा सार्वजनिक यातायातका साधनको मुल्य पनि घटबढ हुने छ । पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशतभन्दा कमको तलमाथि हुँदा भने सार्वजनिक सवारीको भाडा चलाइने छैन ।

अब उप्रान्त इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढ्ने वा घट्ने भए स्वचालिन प्रणालीबमोजिम नै मूल्य समायोजन गर्ने पनि विभागले जनाएको छ । बढेको भाडा चैत २० गतेदेखि लागू हुनेछ ।

प्रदेश र जिल्लाभित्र चल्ने सवारीसाधनको भाडा भने सम्बन्धित सरकारले नै निर्णय गरेपछि मात्रै बढ्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार यातायात व्यवसायी र सरकारबीच आज भएको छलफलमा भाडा बढाउने सैद्धान्तिक सहमति भएको हो । यातायात व्यवस्था विभागले आइतबारमात्रै बढेको भाडादरबारे सूचना सार्वजनिक गर्ने भएको सिटौलाले बताए ।

स्वचालित भाडा प्रणालीमा १३ वटा सूचक

स्वचालित भाडा प्रणालीमा १३ वटा सूचकमध्ये पेट्रोलियम पदार्थको मुल्य पाँच प्रतिशत घटबढ भएमा सार्वजनिक यातायातको साधनको मुल्य पनि घटबढ हुने एउटा मात्रै सूचक हो । अरु १२ सूचक छन् । अर्को एउटा सूचकअनुसार गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धि भएमा हरेक वर्ष चैतमा सार्वजनिक यातायातका साधनको भाडादर समायोजन हुनेछ ।

सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुसार अहिलेसम्म पेट्रोलियम पदार्थमा पाँच रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन हुने व्यवस्था थियो । तर, यो व्यवस्था प्रभावकारी नभएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागको प्रस्तावअनुसार पाँच प्रतिशतको प्रावधान राखेको हो । स्वचालित भाडा प्रणाली लागू भएसँगै अब सार्वजनिक यातायातको मूल्य बढाउनका लागि मन्त्रीस्तरीय निर्णय वा मन्त्रिपरिषद् निर्णय कुनुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित