चौधरी ग्रुपको सहकार्यमा कीर्तिपुर अस्पताललाई देशकै प्रमुख जलन उपचार केन्द्र बनाइने भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी, सांसद चन्द्र भण्डारी, कीर्तिपुर वर्न अस्पतालका चिकित्सकसहित सरोकारवालासँगको बैठकमा कीर्तिपुरमा मुलुककै प्रमुख जलन उपचार केन्द्र निर्माण गर्ने सरकारको योजनामा छलफल भएको हो। मन्त्री पौडेलले मुलुकमा विशिष्टिकृत सेवासहितको जलन उपचार केन्द्र निर्माण गर्ने सरकारको योजनामा चौधरी ग्रुपसँगको सहकार्य महत्वपूर्ण हुने बताए।
उनले भने, ‘माननीय विनोद चौधरीज्यूले जसरी डेडिकेटेड बर्न सेन्टर निर्माणका लागि चासो राख्नुभयो र आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो, यसले सरकारको लक्ष्य प्राप्तिमा ठूलो सहयोग पुगेको छ।’सांसद चौधरीले नेपालमा सुविधासम्पन्न जलन उपचार केन्द्रको अभाव भएकाले आफूले यसलाई प्राथमिकतामा राखेको बताए । कांग्रेस नेता चन्द्र भण्डारीसँगको कुराकानीपछि नेपालमा विशिष्टकृत सुविधासहितको जलन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको सांसद चौधरीले बताए।
‘माननीय चन्द्रजीको जुन दुर्घटना भयो, उहाँले नेपालमा डेडिकेटेड बर्न अस्पतालका लागि सरकारसँग निरन्तर पहल गरिरहनुभएको थियो, त्यसमा खासै प्रगति नभएको मैले पाए। उहाँसँगको कुराकानीपछि मैले यसको आवश्यकता नेपालमा महसुस गरे,’ उनले भने, मन्त्रीज्यू आइसकेपछि हामीले कुराकानी ग¥यौं । उहाँले सकारात्मक जवाफ आयो । अब बर्न अस्पताल निर्माण कार्यले सार्थकता पाउँदैछ।’
काठमाडौँको बुद्धनगरस्थित निवासमा ग्याँस लिक भएर आगलागी हुँदा कांग्रेस सांसद भण्डारी गम्भीर घाइते भएका थिए। नेपालमा उपचार सम्भव नभएपछि उनको भारतमा उपचार भएको थियो। सांसद भण्डारीले नेपालमा डेडिकेटेड जलन अस्पताल निर्माणका लागि सरकारसँग माग गर्दै आएका छन्।
अघिल्लो वर्ष सरकारले कीर्तिपुरको बर्न अस्पताललाई देशकै प्रमुख जलन उपचार केन्द्रका रुपमा विस्तार गर्ने घोषणा गरेपनि काम अगाडि बढ्न सकेको थिएन।
































Discussion about this post