Khabar Samachar

अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

212
VIEWS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी गरिएको छ । जिल्ला अदालत काठमाडौँले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर बस्न्यातले पनि सरकारी लिखत किर्ते गरेको आरोप छ । भूमिसुधार मन्त्रालयको सचिव हुँदा उनले ललिता निवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गरेका थिए ।

लिखत किर्ते गरेको कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ४ जनालाई सिआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । बस्न्यातविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतको आदेशले २०७८ वैशाख २४ मा उनी ५ लाख धरौटीमा रिहा भएका हुन् ।

विशेष अदालतको आदेशले डिल्लीबजार कारागारमा थुनामा रहेका बन्स्यातको निवेदनका आधारमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उनी थुनामुक्त भएका थिए । मुटुरोगी भएको र कोरोना जोखिमका कारण भन्दै उनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । सर्वोच्च अदालतले उनलाई धरौटीमा छाड्न आदेश गर्दै भनेको छ– ‘मन्त्रिपरिषद्को पूर्व निर्णय र निर्देशन बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने सन्दर्भमा सचिवको हैसियतले विभागीय मन्त्री समय फायल पेश गर्नेसम्मको कार्य गरेको देखियो ।’

ललिता निवास प्रकरणमा अदालतबाट ४०६ जनाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । तीमध्ये १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित