प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्ति दिनु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । यससँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले २० असारदेखि गर्दै आएको संसद अवरोध हटाएको छ ।
१८ असारमा सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन उनी (प्रितम) धेरैचोटी दिल्ली गएको’ अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रचण्डको राजीनामा माग्दै संघीय संसदको दुबै सदन अवरुद्ध गर्यो ।
तीन दलका शीर्ष नेताहरुबीच आइतबार प्रधानमन्त्रीले स्पष्टीकरण दिने र अवरोध हटाउने सहमति भएपनि भाँडियो ।
सोमबार फेरि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि सहमति जुट्यो । लगत्तै सुरु भएको संसदमा एमाले सांसद गोकुल बास्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देनले विवादास्पद अभिव्यक्तिमाथि प्रश्न उठाए ।
अनि प्रधानमन्त्री प्रचण्डले रोष्ट्रममा उभिएर करिव ४८ मिनेट लामो स्पष्टीकरण दिए ।
उनले सुरुमा आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई संसद अवरुद्ध गरेको भन्दै असन्तुष्टि जनाए । प्रतिपक्षले उठाएको प्रश्नमा सुरुदेखि नै आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले भने, ‘म त सुरुदेखि स्पष्ट पार्नको लागि पर्खेर बसेको थिएँ । मलाइ थाहा छैन किन संसद अवरुद्ध गरियो ?’
स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग गर्नुको कारण आफूले बुझ्न नसकेको उनले बताए । प्रतिपक्षलाई प्रश्न उठाउन र राजीनामा माग गर्नसक्ने भएपनि स्पष्टीकरणको मौका पनि नदिएको भन्दै उनले भने, ‘के मैले यो सम्मानित सदनसमक्ष उभिएर यथार्थ के हो ? मेरो कमजोरी कहाँनेर हो भनेर मैले भन्न पाउनुपर्दैन ? किन तीन दिनसम्म संसद अवरुद्ध गरियो ?’
प्रतिपक्षले माग गर्नेबित्तिकै राजीनामा दिनुपर्ने अभ्यास स्थापित गरिए त्यसको असर के पर्छ भन्ने प्रश्न गरेका प्रधानमन्त्री प्रचण्डले कुनै पनि माग राख्दा त्यसबाट पछाडि हट्ने ठाउँ नराख्न प्रतिपक्षी दलहरुलाई सुझाव समेत दिएका छन् ।
Discussion about this post