Skip to main content

Khabar Samachar

Search
Close this search box.

जनगणनामा झण्डै आठ लाख व्यक्ति छुटेको पुष्टि, तर आधिकारिक जनसंख्यामा नथपिने

205
VIEWS

गत चैत १० मा सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा ७ लाख ७१ हजार ९९८ व्यक्ति छुटेको पुष्टि भएको छ । छुटेको हिसाब गर्दा देशको कुल जनसंख्या तीन करोड छुनै आँटेको छ ।

राष्ट्रिय जनगणनामा भएको त्रुटि पत्ता लगाउन गरिने गणना जाँच सर्वेक्षण (पीइएस) मा झण्डै ८ लाख व्यक्ति छुटेको पाइएको हो । यसअघि चैत १० गते सार्वजनिक गरेको जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो । अहिले छुटेकासहित जनसंख्या जोड्दा २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ । तर, यो संख्या आधिकारिक तथ्यांकमा जोडिने छैन ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले त्रिविले गरेको पीइएसबाट साढे ७ लाख मानिस जनगणनामा छुटेको बताए ।

उनले  भने, ‘राष्ट्रिय जनगणनाको नतिजामा कति त्रुटि छ भनेर हामीले एउटा सर्वे गरेका थियौं । यही किसिमले कति छुट्यो त भनेर हामीले प्रदेशहरुमा निकालेका छौं । जम्मा करिब साढे ७ लाख मानिसहरु छुटे भन्ने प्रतिवेदनले देखायो ।’

‘जनगणना गर्ने निकायले नै यसको पुनरावलोन गर्नु नहुने अन्तर्राष्ट्रिय अभ्यास छ । त्यसैले राष्ट्रिय तथ्यांक कार्यालयले सर्वेक्षण गर्ने जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिएको थियो । त्रिविले स्वतन्त्ररुपमा सर्वेक्षण गरेको थियो’, लामिछानेले भने, ‘छुटेकाहरु जोड्दा २ करोड ९९ लाख ३६ हजार ५७६ मानिसहरु नेपालमा त्यो बेलामा थिए भन्ने देखिन्छ । अब भोलि प्लानिङ गर्दा यति मान्छेलाई समेटेर योजना बनाउन सकिने भयो ।’

जनगणनामा मानिसहरु छुट्ने नेपालमा मात्र नभई विश्वभर नै हुने उनको भनाइ छ ।

उनी थप्छन्, ‘भारतमा पनि २०११ मा पनि ३ करोड मानिसहरु जनगणनामा छुटेको देखिन्छ । अमेरिकामा पनि करिब करिब १० लाख मानिसहरु छुटेको भनिन्छ ।’

जनगणनाको नतिजा सार्वजनिक भएको तीन महिनाभित्रमा सर्वेक्षण गर्नुपर्ने हुन्छ । सोही सिद्धान्तअनुसार राष्ट्रिय तथ्यांक कार्यालयले रिपोर्ट बनाएको हो ।

छुटेका जनसंख्याबारे विस्तृत विवरण भने निकाल्न नसक्ने कार्यालयले जनाएको छ ।

‘छुटेकाहरुको धर्म-जाति लगायतका डिटेल हेर्न सकिँदैन । जनसंख्याको हिसाबले प्लानिङ गर्नको लागि भने निकै महत्वपूर्ण हुन्छ,’ लामिछाने भन्छन् ।

नेपालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ नै कायम रहनेछ । थपिएको संख्या जोडेर नेपालको जनसंख्या यति भयो भनेर भन्न नमिल्ने उनको भनाइ छ ।

‘त्यसलाई हामी थप्दैनौं । त्यसको स्टिमेट गर्दा मिलान हुन्छ, त्यसको अहिले त नेपालको जनसंख्या ९ करोड ९१ लाख ६४ हजार ५७८ नै हो’, लामिछानेले भने ।

अहिले छुटेकाहरुको जनसंख्या कूल जनसंख्यामा थप्नलाई विस्तृत विवरण चाहिने भएकाले नथपिने भएको हो ।

‘हामीले वडासम्म दिनुपर्ने हुन्छ । राष्ट्रियस्तरमा मात्र थपिएको भन्न त पाइदैन । तलसम्म दिनुपर्ने भएकाले त्यो हामी सक्दैनौं’, उनले भने ।

वडासम्मको स्टिमेट गर्नु अर्को जनगणना गरेजस्तै हुने लामिछाने बताउँछन् । साथै त्यो एकदमै खर्चिलो हुने उनको भनाइ छ । त्यही भएर राष्ट्रिय र प्रदेशअनुसार तथा ग्रामीण र शहरीअनुसार स्टिमेट गरेको कार्यालयले जनाएको छ ।

हरेक जनगणनामा केही प्रतिशत जनसंख्या छुट्ने गरेको छ । योभन्दा अगाडि करिब २०६८ सालमा ३.६ प्रतिशत छुटेका थिए । २०५८ सालमा ५ प्रतिशत गणना गर्दा छुटेका थिए । त्योभन्दा अगाडि २०४८ सालमा ११ प्रतिशत छुटेका थिए । अहिले २.६ प्रतिशत छुटेका छन् । यसले गर्दा करिब–करिब १ प्रतिशत फरक भएको छ ।

गणनामा छुटेका साढे ७ लाख मानिसहरुमध्ये धेरैजसो शहरका छन् । उनीहरु गणनामा सहभागी नभएको सर्वेक्षणले देखाएको छ । त्यसमा पनि काठमाडौंकै सबैभन्दा बढी छुटेको छ । निरक्षरभन्दा पनि शिक्षित मानिसहरु गणनामा छुटेको निर्देशक लामिछानेले बताए ।

शहरी क्षेत्रमा ५ लाख ८५ हजार ७८२ जना र ग्रामीण क्षेत्रमा १ लाख ८६ हजार २१६ जना छुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित