काठमाडौंको बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षबीच झडप हुँदा २८ जना घाइते भएका छन्।
बिहीबार दिउँसो बल्खुमा प्रदर्शनकारी कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। जसक्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए।
झडपमा प्रहरीसहित २८ जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएकामा १७ जना उपचारपश्चात डिस्चार्ज भएका छन्। अन्य छ जनाको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ। अवस्था सामान्य रहेको एसएसपी मैनालीले बताए।
उनका अनुसार प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गर्दै बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भिडलाई माइकिङ गरी सम्झाउने क्रममा झन् उत्तेजित भई ढुङ्गा प्रहार गर्दा ५ जना प्रहरी कर्मचारी घाइते भएकाले नेपाल प्रहरी अस्पतालमा लगेर उपचार गराइएको छ।भिडलाई नियन्त्रणमा लिन प्रहरीले वाटर क्याननबाट पानीको फोहरा, अश्रुग्यास-१५७ सेल र रबरको गोली ५ राउण्ड प्रहार गरेको उनले बताए।
प्रारम्भिक विवरण अनुसार प्रहरीको मेघाफोन ३ वटा, सिल्ड-११, हेल्मेट-३ वटा र वाटर क्यानन लगायतमा क्षति पुगेको कार्यालयले जनाएको छ।
Discussion about this post