तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा मारिएका छन्।
आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए ।
घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले अनलाइनखबरलाई बताए ।
‘उहाँ जाहेरीकर्ताको बुबा हुनुहुन्थ्यो भन्ने खबर आएको छ, त्यसलाई भेरिफाइ गरिरहेका छौं’, सिलवालले भने, ‘उहाँको भाइलाई बेलाएको छु, आउनुभएपछि थाहा होला ।’
सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो।
प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । एसपी सिलवालका अनुसार, बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ ।
‘अहिलेसम्म शंकास्पद विषयहरु देखिएका छैनन्, यद्यपि अनुसन्धान बल्ल सुरु भएको छ’, उनले भने ।
५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।
Discussion about this post