Khabar Samachar

Search
Close this search box.

आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरू

206
VIEWS

अध्यागमन विभागबाट हुने सबै सेवा शुक्रबारदेखि ई–भिसा तथा अनलाइन भुक्तानीको प्रारम्भ भएको छ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई–भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेका हुन्।

अध्यागमन विभागले शुक्रबारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ। अध्यागमन विभाग र विभागअन्तर्गतका कार्यालयहरुमा पूर्ण रुपमा डिजिट र स्वचालित रुपमा सञ्चालनले कार्यालयमा सेवा लिने र दिने दुवैले घरमा बसेर नै सेवा लिनसक्ने भएका छन्।

विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्ने गरी तयारी गरिरहेको जानकारी दिएको छ। विभागले सुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोला भएका छन् भने ई–भिसा एक विदेशी नागरिकलाई दिएर सुरुवात भएको छ।

उक्त सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ। अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिनेबाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन।

सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ।

कार्यक्रममा बोल्दै गृहसचिव दिनेश भट्टराईले अध्यागमनलगायत अन्य गृह मन्त्रालयअन्तर्गत रहेका सेवाहरुलाई स्वचालित र अनलाइन सेवा दिने मिसनमा रहेको उल्लेख गरे। उनले गृह मन्त्रालयले मात्रै लागेर भन्दा पनि अन्य निकायहरुको पनि समन्वय आवश्यक रहेको बताए।

उनले जनतालाई दिने सेवालाई पारदर्शी, मितव्ययी, सरल, सहज र छिटो छरितो बनाउने काम भइरहेको दाबी गरे। उनले अब अध्यागमनमा जुनसुकै देशबाट ई–भिसाको लागि आवदेन दिन र भुक्तानी गर्नसक्ने लक्ष्यमा अघि बढेको उल्लेख गरे।

उनले तत्कालको लागि अनलाइन भुक्तानी नेपालभित्रबाट मात्रै गर्न सकिने अनुमति भएको भन्दै आगामी दिनमा अनलाइन भुक्तानीलाई अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्नसक्ने बनाउने प्रतिबद्धता जनाए। उनले भिजिट भिसाका विगतका प्रावधानहरुलाई सहज र सरलीकृत गरिएको बताए।

अध्यागमन विभागबाट लिने सेवा शुल्क, भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकहरुका मोबाइल बैंकिङ एपको क्युआर तथा वालेट सेवा प्रदायक कनेक्ट आइपीएस, इसेवा र खल्तीको खाताबाट अनलाइनमार्फत भुक्तानी गर्नसक्ने व्यवस्था पनि लागू भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित