Khabar Samachar

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ब्यबस्थापन गर्ने

211
VIEWS

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ब्यबस्थापन गर्ने भएको छ । फोहोर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीय तहबीच त्रिपक्षीय सहमति भएको छ।

यसका लागि काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ। असार मसान्तसम्म प्रचारप्रसार अभियान चलाएपछि साउन १ बाट छुट्टाछुट्टै गाडी पठाएर संकलन गर्नेछ।

यसबीच काठमाडौं महानगरले कुहिने फोहोर जम्मा गर्न र त्यसलाई कम्पोष्ट मलमा परिणत गर्न ठाउँ खोज्नेछ।

‘आगामी ४० दिनभित्र महानगरले कुन ठाउँमा कुहिने फोहोर स्टोर गर्ने र त्यसलाई मलमा परिणत गर्न कारखाना कहाँ राख्ने भन्ने तय गर्नेछ,’ बोहोराले भने, ‘यसको निम्ति फोहोरमैला व्यवस्थापनमा संलग्न निजी कम्पनीहरूसँग छलफल सुरू गरिनेछ।’

काठमाडौंमा फोहोर संकलन र ढुवानीको जिम्मा निजी कम्पनीहरूले लिँदै आएका छन्। यसमा ७९ वटा कम्पनी संलग्न छन्। तिनै कम्पनीलाई ठाउँअनुसार कुहिने फोहोर संकलन गरी स्टोर गर्ने र मल बनाउने जिम्मा दिइनेछ।

‘महानगरको निगरानीमा फोहोरमैलाको व्यवस्थापन निजी क्षेत्रबाट हुनेछ,’ उनले भने।

सत्र वर्षदेखि लगातार काठमाडौंको फोहोर थुपारिँदै आएको सिसडोल बन्द गरी हरित क्षेत्रमा परिणत गर्ने र बञ्चरेडाँडा डम्पिङ साइटले असर गर्ने प्रभावित क्षेत्र निर्धारण गरेर अधिग्रहण प्रक्रिया थालनी गर्ने पनि प्रतिबद्धतापत्रमा छ।

यसको निम्ति बञ्चरेडाँडाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधार ६ महिनाभित्र प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया सुरू गरिने बोहोराले जानकारी दिए। प्रभावित क्षेत्रका जग्गा यकिन गरी अधिग्रहण गर्ने जिम्मा सहरी विकास मन्त्रालयको हुनेछ।

काठमाडौं महानगरपालिकाले नास्टको विज्ञ टोलीबाट बञ्चरेडाँडा डम्पिङ साइटले प्रभाव पार्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गराएको थियो। महानगरले उक्त प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ।

बञ्चरेडाँडा साइट प्रभावित क्षेत्रमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न पाँचवटा सडक निर्माण गर्न सहरी विकास मन्त्रालयले ४२ करोड ५० लाख रूपैयाँ विनियोजन गर्ने प्रतिबद्धतापत्रमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित