नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ।
प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तमा असन्तुष्ट रहेका एआइजी पोखरेलले बुधबार थप १० दिन बिदा मागेका थिए। तर सो बिदा आइजिपी धिरजप्रताप सिंहले अस्वीकृत गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु केसीले जानकारी दिए।
सरकारले सिंहलाई आइजिपीमा नियुक्ति दिएपछि पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। आफूभन्दा कनिष्ठलाई आइजिपी बनाएपछि पोखरेल असन्तुष्ट छन्।
पोखरेलले कानुनी लडाईंका लागि माग गरेको थप १० दिनको बिदा अस्वीकृत भएसँगै उनले हाजिर नहुने बताएका हुन् ।अदालतमा मुद्दा लड्न उनले तत्कालीन आइजिपी शैलेश थापा क्षेत्रीसँग ३० दिन बिदा स्वीकृत गराएका थिए। तर मुद्दाको फैसला अझै आइनसकेको हुँदा उनले थप बिदा बस्न चाहेका थिए।
एआईजी पोखरेलका एक कानुनी सल्लाहकारले आईजीपीले बिदा अस्वीकृत गरेपनि प्रहरी मुख्यालय वा खटाइएको स्थानमा हाजिर नहुने बताए। पोखरेलको भनाई उदृद गर्दै ती सल्लाहकारले भने, ‘जसकाविरुद्ध मुद्दा हालिएको हो र जेका लागि मुद्दा हालिएको हो, त्यसको निरुपण नै भएको छैन । जबसम्म अदालतबाट त्यसको निरुपण हुँदैन, हाजिर हुने कुरा न आउँदैन ।’
पोखरेलले मंगलबारमात्रै प्रहरी मुख्यालयमा पत्र पठाएर थप १० दिन बिदा माग गरेका थिए । यसअघि एक महिने बिदामा बसेका पोखरेलले थप १० दिन बिदा माग गरेपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पोखरेलको बिदा अस्वीकृत गर्दै तत्काल हाजिर हुन निर्देशन दिएका थिए । त्यसपछि पोखरेलले कानुनी सल्लाहकारमार्फत आफू हाजिर नहुने बताएका हुन् ।
Discussion about this post