Khabar Samachar

लोकगायिका दिलमायाको रहस्यमय मृत्यु : प्रेमीको बयान र हराएको मोबाइलले जन्मायो शंका

203
VIEWS

 लोकदोहोरी गायिका दिलमाया सुनार मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ। आफ्नै कोठाको ओछ्यानमा मृत अवस्थामा फेला परेकी सुनारको अनुसन्धानमा खटिएको प्रहरी टोलीले नयाँ नयाँ तथ्य फेला पारेपछि घटना थप रहस्यमय बन्दै गएको हो।

उनी डेरा बस्ने घरबेटीले गायिका सुनार मृत अवस्थामा रहेको प्रहरीलाई जानकारी गराए। त्यसपछि प्रहरी काठमाडौंको नेपालटारस्थित घटनास्थलमा पुग्यो।

प्रहरी पुग्दा दिलमायाको शव बेडमै थियो। घाँटीमा नीलडाम देखियो। अन्य शंकास्पद चिज केही पनि देखिएन। प्रहरीले उनको कोठामा खानतलास गर्दा पनि हत्याका केही प्रमाण फेला पारेन। घाँटीमा निलडाम भए पनि आत्महत्या पुष्टि गर्ने प्रमाण पनि भेटिएन। कतै डोरी वा सलको पासो छ कि भनेर प्रहरीले खोज्यो तर भेटिएन।

प्रहरीले दिलमायाको सम्बन्धको ‘कनेक्सन’ खोतल्न थाल्यो। घरबेटी र आसपासका अन्यसँग सोधपुछ गर्यो। त्यही क्रममा पत्ता लाग्यो, सिन्धुपाल्चोकको साँगाचोकगडीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठको ‘कनेक्सन’।

 त्यही घरमा बस्ने अरुले सूर्यलाई त्यस रात दिलमायाको डेरामा देखेको बताए। रातिसम्म उनीहरु बोलेको सुनेको बताएपछि प्रहरीले सूर्यको खोजी गर्यो। गोठाटारमा सुन पसल सञ्चालन गर्ने सूर्य प्रहरीको सम्पर्कमा आए।

तर, घटनाबारे कुनै जानकारी नभएको उनले जवाफ दिए।

 प्रहरीले केरकार गर्दै जाँदा उनले राति करिव ११ बजेसम्म मात्रै आफू त्यहाँ रहेको र पछि आफ्नै डेरामा फर्किएको बताए।

प्रहरीले भने अन्य प्राविधिक पाटोबाट पनि अनुसन्धान गरिरहेको थियो। राति २ बजेसम्म पनि सूर्य त्यहीँ रहेको पुष्टि भयो।

मोवाइल फोनको लोकेसन र सीसी क्यामेराबाट यो पुष्टि भइसकेपछि प्रहरीले सूर्यलाई नै केन्द्रित गरेर थप अनुसन्धान अगाडि बढायो।

घटनाबारे जानकारी नै नभएको बताएका सूर्यले पछि दिलमाया मृत अवस्थामा फेला परेको बताए। ‘उनले सुरुमा स्वीकार्दै स्वीकारेनन्। पछि हामीले उसको सीसीटीभी फुटेज देखाइसकेपछि बल्ल हो, म त्यहीँ थिएँ भने’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘त्यसपछि हामीले थप खोतल्न थाल्यौं।’

जब मध्यराति गायिकाले फेसबुकमा लेखिन् –बाँचेर पनि दिनदिनै मर्न सकिनँ, मलाई माफ गर

गायिका सुनारले गत शुक्रबार मध्यराति फेसबुकमा एउटा स्टाटस लेखिन्। बाँचेर पनि दिनदिनै मर्नु परेको कुरा उनले स्टाटसमा उल्लेख गरिकी थिइन्। उनमा मानसिक तनावमा आएको हुनसक्ने प्रहरी विश्लेषण छ। ‘अब म बाँच्न सक्दिन यो दुनियाँ धेरै स्वार्थी छ। मैले आफ्नै इच्छाले यो कदम उठाएकी छु। कसैलाई दोष नलगाउनू’ फेसबुकमा सुनारले लेखेकी छन्। अझ अघि उनले लखेकी छन् ‘जीवनमा धेरै उतारचढाव आए। कसैको माया पाउन जति धेरै कोशिस गर्दा पनि पाइनँ।’

फेसबुकमा यस्तो स्टाटस लेखेको देखेपछि सुनारकै साथीले उनका घरेबेटीलाई सम्पर्क गरेर उक्त कुराको जानकारी गराएका थिए। शनिबार बिहान करिब १० बजेतिर घरबेटीले जानकारी पाएपछि सुनारको कोठामा गएर हेर्दा उनी आफ्नो बेडमा उत्तानो अवस्थामा मृत भेटिएकी थिइन्। त्यसपछि गायिका सुनार मृत अवस्थामा भेटिएको जानकारी प्रहरीले पाएको थियो।

प्रहरीले सूर्यलाई सोध्यो– उनको मृत्यु कसरी भयो ?
‘बेलुकी म लोकल रक्सी खाएर सुतेको थिएँँ। ब्युझिँदा झ्यालमा उ सलको पासो लगाएर झुण्डिरहेको देखेँ। हतार हतार पासो फुकालेर बेडमा ल्याएँ। ऊ जीवित थिइन। त्यसपछि म उनी पासो लागेको सल बोकेर भागेँ’, उनले प्रहरीलाई जवाफ दिए।

‘त्यो पासो लागेको सल कहाँ छ?’ प्रहरी थप अगाडि बढ्यो।

उनले महाराजगञ्जस्थित चक्रपथ नजिकै फालेको जवाफ दिए। आइतबार उनले पासोबारे जानकारी दिएपछि प्रहरी टोली उनलाई नै लिएर सल फालेको भनिएको स्थानमा पुग्यो। महाराजगन्जस्थित इन्भेष्टमेन्ट बैंक अगाडि नाली नजिकै झारमा सल भेटियो।

उपत्यका अपराध महाशाखाको प्रहरी टोली त्यो सल लिएर फर्कियो।

अहिलेसम्म श्रेष्ठलाई नै केन्द्रमा राखेर अनुसन्धान गरिरहेको महाशाखाको टोली अझैसम्म दिलमायाको हत्या भएको हो वा उनले आत्महत्या गरेकी हुन् भन्ने निस्कर्षमा पुगिसकेको छैन। पोष्टमार्टमको रिपोर्ट आउनै बाँकी छ।

दिलमायाका आफन्तले पनि प्रहरीमा जाहेरी दिइसकेका छैनन्। सुर्खेतबाट उनका परिवार काठमाडौं आउँदैछन्। परिवार आइनसकेकै कारण पोष्टमार्टम पनि बाँकी छ।

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइराला भन्छन्, ‘अहिले नै यसै हो भन्न सक्ने अवस्थामा पुगेका छैनौं। उसले अस्वीकार गरेको भए पनि हत्या भएको हुन सक्छ वा आत्महत्या नै पनि हुनसक्छ। प्रमाणले जे पुष्टि गर्छ, त्यसपछि मात्रै भन्न सकिन्छ।’

पोष्टमार्टम रिपोर्ट आइसकेपछि हत्या वा आत्महत्या भन्ने खुल्ने प्रहरीको भनाइ छ । तर, अहिले पनि आत्महत्या नै पुष्टि गर्न केही शंकाहरु घटनामा देखिएका छन्।

मोबाइल कहाँ हरायो ?
राति १ बजेर २० मिनेट जाँदासम्म विरक्त देखिएकी गायिकाले आफैं स्टाटस लेखेकी हुन् भने उनको मोबाइल फोन कहाँ छ त?

मोबाइल घटनाको अनुसन्धानका लागि ठूलो प्रमाण बन्न सक्छ। तर, प्रहरीले अहिलेसम्म पनि मोवाइल भेटेको छैन।

मोबाइल नभेटिँदा उनको मृत्यु अगाडि को–को जोडिएका थिए? आत्महत्या हो भने मृत्युसम्म पुग्नुपर्ने कारण के बन्यो ? यी प्रश्नको जवाफ पनि मोबाइलसँगै हराइरहेका छन्।

शंका गर्नका लागि त प्रहरीसँग दुवै एंगलबाट प्रशस्त आधार छन्। आत्महत्या गरिन् कि भन्ने शंकामा प्रहरी छ। उनलाई नजिकबाट चिन्नेहरुले प्रहरीसँग यसका केही आधार बताएका छन्।

‘हामीले उनीसँग चिनजान नजिक भएकाहरुलाई पनि सोधेका छौं। उहाँहरुले पनि दिलमायाले विरक्त लाग्ने कुरा गरेको बताउनुभएको छ। केही दिन पहिले पनि आफूलाई सूर्यले बेवास्ता गरेर फोन उठाउन छाडेको बताउने गरेको र सूर्यसँग कुरा गराउन आग्रह गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले  भने।

सूर्यको झूट?
अनुसन्धानका लागि पक्राउ परेका सूर्यले सुरुदेखि नै प्रहरीलाई ढाँटिरहेको अनुसन्धानमा संलग्न अधिकारीहरुको आशंका छ । प्रहरीका अनुसार सुरुमा उनले त्यहाँ आफू नगएको बताए। पछि राति ११ बजेतिर फर्किएको भने। तर, प्रहरीले उनी त्यहीँ रहेको प्रमाण फेलापरेपछि मात्रै उनले स्वीकार गरे।

उनले सुरुमा पासो लागेको भनिएको सलबारे पनि केही बताएका थिएनन्। पछि आफूले फालेको स्थान बताए। आइतबार उनैलाई लगेर प्रहरीले त्यो सल फेला पार्यो।

प्रहरीको आशंका मोबाइल पनि उनैसँग रहेको भन्ने छ। मोबाइल बन्द हुँदा पत्ता लाग्न सकेको छैन। सूर्यले पनि भनेका छैनन्। यसले पनि सूर्यमाथि नै प्रहरीले आशंका गरिरहेको छ।

बयानका क्रममा उनले आफू त्यो रात रक्सी खाएर सुतेकाले केही थाहा नपाएको, पछि झुण्डिरहेको अवस्थामा देखेको बताएका छन्। कोठामा लोकल रक्सी, डिउ र खसीको मासु भेटिएको छ। उनले मृत फेला परिसकेपछि आफू डरले भागेको प्रहरीलाई बताइरहेका छन्। संलग्नता स्वीकार गरेका छैनन्।

दोहोरी साँझबाट सुरु भयो सम्बन्ध
सूर्यले प्रहरीलाई बताएअनुसार दिलमायासँग उनको करिव १५ महिना पहिले चिनजान भएको हो। चाबहिलको चुच्चेपाटीस्थित दर्पण छायाँ दोहोरी साँझमा उनीहरुको भेट भएको हो।

दिलमाया त्यहाँ गीत गाउन पुगेकी थिइन्। सूर्य ग्राहक बनेर गएका थिए। त्यहीँबाट सुरु भएको उनीहरुको सम्बन्ध झाँगिँदै गयो।

डिभोर्स भइसकेकी दिलमायाका एक छोरा छन् भने सूर्यले पनि आफ्ना ४ जना छोराछोरी रहेको बताएका छन्। तर, सूर्यका श्रीमती र छोराछोरी सिन्धुपाल्चोकमै छन्।

यता सूर्य भने दिलमायासँग नजिकिँदै गए। आउजाउ र बसोबास हुन थाल्यो। दिलमायाले अरुलाई सूर्य मेरो पति हो भन्दै चिनाउन थालिन्। उनले फेसबुकमा पनि दुईजनाको फोटो पोष्ट गरेकी छिन्। त्यहाँ पनि त्यही आशय देखिन्छ।

तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रँदै गएको सूर्यले पनि बताएका छन्। ‘आफू काममा व्यस्त भएर फोन नउठाएको सूर्यको भनाइ छ। तर, दिलमायाले यही कुरालाई लिएर साथीहरुसँग गुनासो गरेकी रहिछन्’, अनुसन्धान अधिकृत भन्छन्।

प्रहरीका अनुसार तीन महिना पहिले पनि दिलमायाले विष खाएर आत्महत्याको प्रयास गरेको खुलेको छ। त्यतिबेला पनि सूर्यसहितका व्यक्तिले अस्पताल लगेर बचाएको बताउँदै प्रहरी स्रोत भन्छ, ‘सुरुमा उनीहरुले ग्रिनसिटी र पछि त्रिवि शिक्षण अस्पताल लगेर बचाएका रहेछन्।’

सँगै बसेर मदिरा सेवन, मृत्युपछि प्रेमी फरार
गायिका सुनार मृत भेटिएको भन्ने जानकारी आएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले नयाँ नयाँ तथ्य फेला पारेको छ। अनुसन्धानको क्रममा प्रहरीले उनका प्रेमी सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई शनिबार नै नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

गायिका सुनार मृत्यु घटना : महाराजगञ्जको नालीमा फेला पर्‍यो सल

श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुबाट पक्राउ गरेको हो। सुरुमा श्रेष्ठले आफूलाई सुनारको मृत्यु प्रकरणबारे केही जानकारी नै नभएको प्रहरीलाई बताएका थिए। तर प्रहरीले सुनार बस्ने नेपालटारस्थित कोठा आसपासका सिसी टिभी फुटेजबाट श्रेष्ठ सुनार बस्ने घरमा गएको दृश्य देखाएपछि भने उनले घटनाबारे बताएको एक अनुसन्धान अधिकृतले नेपाल लाइभलाई जानकारी दिए।

‘सुरुमा श्रेष्ठले इन्कार गरेका थिए। पछि हामीले प्रमाण जुटाएपछि उनी बोल्न बाध्य भए’ अनुसन्धान अधिकृतले भने। अनुसन्धानको क्रममा प्रेमी श्रेष्ठ र गायिका सुनार शुक्रबार रातिसँगै सुनारको डेरा/कोठामा बसेको खुलेको छ।

सुरुमा इन्कारी बयान दिँदै घटनाबारे आफू जानकार नै नभएको दाबी गरेका श्रेष्ठ त्यसरात सुनारकै कोठामा रहेको मोबाइल लोकशनबाट समेत खुलेको छ। मोबाइल लोकशन हेर्दा सुनार र श्रेष्ठको एकै ठाउँ देखाएको प्रहरी अधिकारीको भनाइ छ।

उनीहरुले त्यसरात सँगै लोकल मदिरा पिएको पाइएको छ। सुनारको कोठाबाट लोकल मदिरा समेत प्रहरीले बरामद गरेको छ।

‘उनीहरुबीच पहिल्यैदेखि सम्बन्धमा बेलाबेलामा दरार आएको हुनुपर्छ। त्यसदिन पनि केही खटपट भएको होला। फेसबुकमा स्टाटस लेखेको केही समयपछि नै सुनार मृत्यु भएको देखिन्छ’ अनुसन्धान अधिकारीको भनाइ छ।यता पक्राउ परेका श्रेष्ठले आफूले सुनारको हत्या नगरेको दाबी गरेका छन्। उनका अनुसार मदिरा सेवन गरेपछि आफू केही समय निदाएको र ब्युझिएपछि हेर्दा सुनार घाँटीमा सलको पासो लगाएर झ्यालको ग्रिलमा झुण्डिएको अवस्था देखेको बताएका छन्।

१५ महिनादेखि ‘लिभिङ टुगेदर’मा
सुर्खेत घर भएकी गायिका सुनार श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर नेपालटारमा बस्दै आएकी थिइन्। उनका एक छोरा सुर्खेतमै बस्दै आएका छन्। यता प्रहरीले पक्राउ गरेका व्यक्ति श्रेष्ठ भने गोठाटारमा सुन पसल सञ्चालन गर्दै आएका छन्। उनीहरुबीच विगत १४/१५ महिनादेखि सम्बन्ध रहेको देखिएको छ। सुनार र श्रेष्ठ लिभिङ–टुगेदर जसरी नै बस्दै आएको पाइएको प्रहरीको भनाइ छ। घरबेटीले पनि श्रेष्ठ सुनारको कोठामा आइराख्ने व्यक्ति भएको बताएका छन्।

‘लिभिङ–टुगेदर रिलसन’मा रहेका उनीहरुबीच बेलाबेलामा खटपट हुनु र सोही कारण सुनारले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि पोष्टमार्टम रिपोर्ट आइनसकेकाले अहिले नै आत्महत्या हो भन्ने सक्ने अवस्था छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित