Khabar Samachar

चीनको चेतावनीका बाबजुद् ताइवान पुगिन् अमेरिकी सभामुख पेलोसी

203
VIEWS

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छन्। ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्दै आएको चीनको चेतावनीका बाबजुद् मंगलबार राति सभामुख पेलोसी अमेरिकी वायु सेनाको जहाजमा ताइपेई पुगेको समाचार संस्था एपीले जनाएको छ।

पेलोसी चढेको अमेरिकी एयरफोर्सको जहाज मंगलबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरबाट उडेको थियो। उक्त जहाज कता जान्छ भनेर संसारभरिका मानिसलाई चासो थियो। जहाज ट्रयाक गर्ने फ्लाइटराडारमा तीन लाख बढी मानिसले उक्त जहाजको अवस्थालाई पछ्याएका थिए। एउटै जहाज पछ्याउन यति धेरै मानिसले एकैपटक साइट खोल्दा यसअघि कहिल्यै नदेखिको समस्या देखिएर केही ठाउँमा साइट खुल्न समस्या भएको फ्लाइटराडार २४ ले जनाएको थियो।

अंग्रेजी भाषाको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले चिनियाँ सेनाले खसालिदिन सक्ने डरले पेलोसी चढेको जहाज क्वालालम्पुरबाट साउथ चाइना सी माथिबाट नभएर फिलिपिन्सभन्दा परबाट घुमेर आएको दाबी गरेको छ।

रूसले पेलोसीको भ्रमणबारे चीनलाई साथ दिएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ताले पेलोसीको भ्रमणलाई चीनलाई उत्तेजित पार्ने कदम भएको बताएका छन्।

पेलोसी पछिल्ला २५  वर्ष ताइवान जाने पहिलो अमेरिकी सभामुख हुन्। सन् १९९७ को मार्चमा तत्कालिन अमेरिकी सभामुख न्युट गिन्ग्रिजले ताइवान भ्रमण गरेका थिए।

nic

बेइजिङको कडा चेतावनीबीच चीनकी कटू आलोचक पेलोसी ताइवान पुगेपछि पहिलादेखि नै तनावपूर्ण सम्बन्ध रहेका चीन र अमेरिकाले अब के गर्छन् भन्ने संसारभरि चासो छ।

ताइपेईमा उत्रिएको केहीबेरमै ट्विट गर्दै पेलोसीले आफ्नो प्रतिनिधि मण्डलको ताइवान भ्रमणले ताइवानको गतिशील प्रजातन्त्रलाई सहयोग गर्ने अमेरिकी प्रतिवद्धताको सम्मान भएको बताएकी छन्।

वासिङ्टन र बेइजिङका अधिकारीहरूले कडा प्रतिक्रिया दिइरहेका बेला ताइवान आसपासको समुद्रमा युद्धपोत र लडाकु जहाजहरू थपिएका छन्।

समाचार रोयटर्सका अनुसार अमेरिकाले मंगलबार चार वटा युद्धपोतलाई ताइवानको नजिक ल्याएर राखेको छ। अधिकारीहरूले यसलाई नियमित प्रक्रिया भएको बताए पनि पेलोसीको भ्रमणका लागि युद्धपोत ताइवान वरपर जम्मा भएको ठानिएको छ।

युएसएस रोनाल्ड रेगन एयरक्राफ्ट क्यारियरलाई पनि ताइवानको पूर्वमा ल्याएर राखिएको छ।

यता चीनले पनि ताइवानतिरको समुद्रमा लडाकु जहाज बाक्लो संख्यामा पठाएको छ। चीन र ताइवानको अनौपचारिक सीमा भएको स्थानसम्म थुप्रै चिनियाँ युद्धपोत खटिएका छन्। आकाशमा पनि चिनियाँ लडाकु जहाज मेडियन लाइनसम्म उडेका छन्।

ताइवानको रक्षा मन्त्रालयले पनि सीमामा भइरहेका सैनिक गतिविधिबारे पूर्ण रूपमा जानकार रहेको चीनबाट खतरा बढ्नासाथ सैनिकहरू परिचालन गरिने बताएको छ।

ताइवानबाट नजिकै रहेको चिनियाँ सहर सियामेनका बासिन्दाहरूले बख्तरबन्द गाडीहरू गुडिरहेका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन्।

पेलोसीको भ्रमणको विरोधमा मंगलबार चीनले ताइवानका ३५ वटा खाद्यान्न निर्यात गर्ने कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित