Khabar Samachar

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले फेरि भन्यो- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

203
VIEWS

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ को प्रतिनिधि सभा चुनावका लागि बाचा पत्र सार्वजनिक गरेको छ।

सभापति लामिछाने लगायतले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बाचा पत्र (घोषणा पत्र) सार्वजनिक गरेका हुन्।

स्वतन्त्र पार्टीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी दिएको छ तर प्रदेश सभा चुनावमा भने स्वतन्त्र पार्टीले भाग लिएको छैन।

पार्टीका महामन्त्री मुकुल ढकालका अनुसार प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने शासकीय स्वरूप पार्टीले अंगीकार गरेको छ।

‘राष्ट्रपति निर्दलीय हुनुपर्छ। कम्तीमा १० वर्ष कुनै पार्टीमा नलागेको व्यक्ति राष्ट्रपति हुनुपर्छ,’ उनले भने, ‘तलब भत्ता मात्रै खाने अहिलेको जस्तो उपराष्ट्रपतिको पद काम छैन। राष्ट्रिय सभा अध्यक्षलाई नै उपराष्ट्रपतिको जिम्मेवारी दिए हुन्छ।’

स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक रहेको स्वतन्त्र पार्टीको बाचा पत्रमा उल्लेख छ। पार्टी घोषणा गर्दा पनि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा उठाएका थिए। अहिलेको संविधानमा संसदीय व्यवस्था भएकाले उनको पार्टीले संविधान संशोधन गर्न खोजेको हो भन्ने प्रश्नमा उनले पछि भनेका थिए,’जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नभएर प्रधानमन्त्रीको उम्मेदवार बन्न पार्टीमा प्रत्यक्ष चुनाव लडेर आउनुपर्ने भनेको हुँ।’

संघीयताका पक्षमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रष्ट छैन। प्रदेश सरकार निकै महंगा भएको भन्दै उक्त पार्टीले प्रदेश सभामा उम्मेदवारी दिएको छैन। तर बाचा पत्रमा उसले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने उल्लेख गरेको छ।

राष्ट्रिय सभा गैरदलीय बनाउनुपर्ने लामिछानेले बताएका छन्। ६ वर्ष कुनै दलमा नलागेका विज्ञ व्यक्तिलाई राष्ट्रिय सभा सांसद बनाउनुपर्ने उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित