Skip to main content

Khabar Samachar

Search
Close this search box.

संसद्‍मा भैँसी र राँगाको गफ गर्ने हो भने गोबरबाहेक केही प्राप्त गर्दैनौं : लामिछाने

204
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र सांसद रवि लामिछानेले संसदीय मर्यादामा आँच आउने गरी भएको बहसका लागि माफी मागेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलमा सहभागी हुने क्रममा लामिछानेले संसदीय मर्यादाको ख्याल गर्न सबैलाई आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको जेठ २२ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको विषयमा प्रश्न सोध्ने क्रममा रास्वपाका सांसद शिशिर खनालले संसदीय मर्यादाविपरीतको शब्द बोलेका थिए । उनले प्रधानमन्त्री भारतबाट प्लेन चढेर पोखरा विमानस्थलमा अवतरण नगरी ‘प्रधानमन्त्री भैँसी चढेर पो आउनु भो’ भन्ने बोलेका थिए । उक्त शब्दलाई सभामुख देवराज घिमिरेले संसद्को रेकर्डबाट हटाउन लगाएका थिए ।

सोही कुरातर्फ इंगित गर्दै सभापति लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएका त्यस्ता अभिव्यक्तिका लागि माफी मागेका हुन्। ‘संसद्को मर्यादा राख्न चुकिरहेका त छैनौं ! यसमा ध्यानाकर्षण गराउन चाहन्छु । हामी नयाँ राजनीतिक दलका हिसाबमा चाहे ती हाम्रा पक्षबाट आएका विषय हुन् त्यसप्रति हामी कहीँ न कहीँ लज्जित भएका छौं,’ उनले भने, ‘यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौं ।’

लामिछानेले ती अभिव्यक्तिप्रति आत्मआलोचना गर्न चाहेको बताए । ‘बजेट र राष्ट्रका महत्त्वपूर्ण विषयमा कुरा गरिरहँदा, आम सर्वसाधारणमा संसद्‍बाट राम्रो सन्देश गएको छैन । म आफ्नो भागमा परेको जुन दुःख छ जिम्मेवार हुन चाहन्छु । केही दिनअघि भएका कुरा अमर्यादित भएकोमा क्षमा चाहन्छु,’ उनले भने ।

राँगा र भैँसीका बहस संसद्‍मा गर्ने हो भने नागरिकमा निराशा छाउने लामिछानेको भनाइ थियो । त्यसरी नै बहस गरिरहने हो भने पाँच वर्षपछि जनतामा मुख देखाउन नसकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित