Khabar Samachar

गोंगबुमा भएको घटनाको छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन

204
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्।सोमबार दिउँसोदेखि यातायात मजदुरले गोंगबु क्षेत्रमा गरेको आन्दोलनका क्रममा यातायात अवरुद्ध पार्नुका साथै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलमा तोडफोड र त्यहाँको मोवाइल पसलमा लुटपाट भएको थियो । त्यस्तै आन्दोलनकारीले माछापोखरीमा प्रहरीका दुईवटा गाडी र प्रहरी विट जलाएका थिए ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन्।

‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्,’ प्रधानमन्त्री प्रचण्डले भने।

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको बताए। घटनामा परी ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानले देखाएको सुरक्षा अधिकारीहरूले ब्रिफिङ गरेका थिए।

छलफलका क्रममा उनीहरूले घटनाको छानबिन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा समिति गठन गरिएकोसमेत जानकारी दिए।

प्रधानमन्त्रीकै पहलमा भएको छलफलमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, गृहसचिव, प्रधानमन्त्री कार्यालयको तर्फबाट शान्तिसुरक्षा हेर्ने सचिव र सुरक्षा अंगका प्रमुखहरू उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित