नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरूद्धको मुद्दामा सनुवाई हुने भएको छ। पेशी चाैथाै नम्बरमा छ।
यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले उक्त मुद्दामा दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।
गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीपलाई निलम्बन गरेको थियो।
वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
Discussion about this post