Khabar Samachar

Search
Close this search box.

हर्षोल्लासका साथ मनाइयो नेपाल संवतको नयाँ वर्ष

203
VIEWS

चान्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवतको नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ।

राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो। नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना र्‍याली निकालिएको थियो।

काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्‍याली निकालिएको हो।

यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट नेपाल संवत सुरु भएको थियो। पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा नेपाल संवत चलेको थियो। लिच्छविकालअघि शक संवत प्रचलनमा थियो।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो।

विसं २०६५ मा सरकारले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिएको थियो। कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ। आजैदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ। यो निर्णय आजैदेखि कार्यान्वयन भएको जनाइएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित