नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रचण्डले राजनीतिक बेइमान गरेको आरोप लगाएको छ । नयाँ बानेश्वरमा बिहीबार बसेको संसदीय दल बैठकले गठबन्धन तोड्नुपर्नाका कारण भनेर प्रधानमन्त्रीले अगाडि सारेका विषय अत्यन्त काल्पनिक रहेको पनि निष्कर्ष निकालेको हो।बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रह्यो । गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौं । तदअनुसार नै काम गरौं । प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो । यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा लिएका छौं ।’अब कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लेखकले बताए । आफ्ना सांसदलाई रचनात्मक रुपमा भूमिका निर्वाह गर्न दलको बैठकले निर्देशन दिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि सोमबार कांग्रेस सरकारबाट बाहिरिएको थियो ।
Discussion about this post