सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समीकरण निर्माण गर्नुपरेको बताएका छन्। महासचिव पोखरेलले मिसन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको सङ्कल्प भएको उल्लेख गर्दै त्यसबाट विचलित नहुने बताएका हुन् ।
शनिबार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समीकरणको यात्रा सुरु गरिएको पनि स्पष्ट पारे । महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य सुरु भएकाले त्यसले पार्टीको मिसन २०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्क समेत गरे ।
उनले भने, ‘अब सकारात्मक दिशातर्फ मुलुकलाई लैजानुपर्दछ भन्ने मान्यताको आधारमा हामीले यो यात्रा आरम्भ गरेका छौँ । कतिपयले भन्ने गर्नुभएको छ–होइन हाम्रो उद्देश्य मिसन २०८४ भनेर भनिरहेको एमाले आज सरकारमा सामेल भयो । कतै एमालेको मिसन २०८४ रोकिएको हो कि भनेर प्रश्न गर्ने गर्नुहुन्छ । म तपाईँहरुको बिचमा के भन्न चाहन्छु भन्दा खेरी मिसन २०८४ मुलुकको भविष्य निर्माणको एउटा सङ्कल्प हो । त्यसबाट नेकपा एमाले विचलित हुने प्रश्नै उठ्दैन । हामीले त भनिरहेका छौँ–यो सहकार्यले मिसन २०८४ लाई बलियो बनाउँदछ भन्ने मान्यता र विश्वासको जगमा हामीले नयाँ सहकार्यको यात्रा आरम्भ गरेका छौँ । किनकि हाम्रो यात्रामा हाम्रा विरुद्धको घेराबन्दी तोड्नु आवश्यक थियो । चक्रब्युहलाई तोड्न आवश्यक थियो । हामीले हाम्रा विरुद्धको घेराबन्दीलाई, हाम्रा विरुद्धको चक्रब्युहलाई तोडेर हामी बाहिर आएका छौँ । सहकार्यको एउटा नयाँ आधार तयार गरेका छौँ । जसका आधारमा हामी मिसन २०८४ लाई सफल पार्न चाहन्छौँ । र मुलुकको भाग्य र भविष्यलाई उज्यालो दिशातर्फ अगाडि बढाउन चाहन्छौँ । निराश बनेका जनतामा आशा जगाउन चाहन्छौँ ।
पोखरेलले एमालेको अर्जुन दृष्टि मिसन २०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताए । मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
Discussion about this post