नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।
यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ।
गत भदौ २६ गते एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ। एमालेले दिवंगत सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सुहाङ एमाले कानुन विभाग सदस्य छन्।
एमाले इलामले कोशी प्रदेश कमिटीमा उम्मेदवारका ६ जना आकांक्षीको नाम पठाएको थियो। ती नाम केन्द्रमा आएपछि सुहाङलाई उम्मेदवार बनाइएको हो।
बझाङ १ को १ मा भने एमालेबाट ३ जना आकांक्षी थिए। बझाङ क्षेत्र नम्बर १ को (१) मा २०७९ को चुनावमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त छ।
यस्तै सचिवालय बैठकले ऐन महरलाई पुन: केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको छ।
‘विगतमा कमजोरी भयो, म पार्टीको विधि पद्धतिको अधीनमा रहेर काम गर्छु भनेर उहाँले लिखित आत्मालोचना बुझाउनु भएको छ। त्यसैले उहाँलाई केन्द्रीय सदस्यकै जिम्मेवारीमा फर्काउने निर्णय भएको छ,’ एक पदाधिकारीले भने।
Discussion about this post